नरवणेको नेपाल भ्रमणको दोस्रो दिन, मानार्थ महारथीकाे दर्ज्यानी चिन्ह प्रदान गरिँदै
काठमाडौं नेपालको तीन दिवसीय भ्रमणका बुधबार काठमाडौं उत्रिएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ। बुधबार काठमाडौं आइपुगेका सेनाध्यक्ष नरवणेले वसन्तपुर दरबार स्क्वायरको अवलोकन र पशुपतिनाथको दर्शन गरेका थिए।
सेनाध्यक्ष नरवणेले आज बिहान ११ बजेर २५ मिनेटदेखि १२ बजेर १० मिनेटसम्म नेपाली सेनालाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ । त्यसपछि मेडिकल उपकरण हस्तान्तरको कार्यक्रम रहेको छ भने साढे १२ बजे भारतीय दूतावासमा लञ्च गर्ने कार्यक्रम छ।
दिउँसो ३ बजेर ४० मिनेटमा उनी राष्ट्रपति भवन पुग्ने कार्यक्रम छ भने ४ बजेदेखि ५ बजेसम्म शितल निवासमा नरवणेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ।
राष्ट्रपतिबाट मानार्थ महारथीकाे उपाधि लिएपछि नरवणे नेपाली सेनाको मुख्यालय जानेछन्।। राति साढे ९ बजेसम्म प्रधानसेनापति पूर्ण चन्द्र थापाको आयोजनामा हुने रात्रीभोजमा सहभागी भइ होटल सोल्टी फर्किने कार्यक्रम रहेको छ।
प्रतिक्रिया