२०८० मंसिर १८ गते | 4th of December 2023

सातौं पटक बिहारको मुख्यमन्त्री बन्दै नीतीशकुमार

सातौं पटक बिहारको मुख्यमन्त्री बन्दै नीतीशकुमार
Sanchar_np प्रकाशित: २०७७ कार्तिक ३० गते १६:१४

नयाँ दिल्ली (एजेन्सी)। भारतको बिहारमा हालै सम्पन्न विधान सभा निर्वाचनमा बहुमत प्राप्त गरेको जनतान्त्रिक गठबन्धन (एनडीए)को आइतबार बसेको बैठकले गठबन्धनको एक घटक जनता दल यूनाइटेडका नेता तथा निवर्तमान मुख्यमन्त्रीलाई दलको नेता चयन गरेको छ। दलको नेता चयन भएपछि नीतीशकुमारले आतइबार नै बिहारका राज्यपाललाई भेटेर सरकार बनाउने दावी पेश गरेका छन्।
उनले सोमबार भारतीय सयमअनुसार साढे ४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। नीतीशकुमारले सातौं पटक मुख्यमन्त्रीको शपथ लिन लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएक छन्। नीतीशकुमार सन्. २००५ देखि बिहारको मुख्यमन्त्री छन्।
उता एनडीएको मुख्य घटक भाजपाबाट सरकारमा जाने व्यक्तिबारे भने निर्णय हुन नसकेको जनाइएको छ। निवर्तमान उपमुख्यमन्त्री तथा भाजपा नेता सुशील मोदी नै उपमुख्यमन्त्री हुने चर्चा भए पनि उनको नाममा सहमति नजुटेको बताइएको छ।
भाजपाको पर्यवेक्षकका रुपमा बिहार पुगेका केन्द्रीयमन्त्री राजनाथ सिंहले उपमुख्यमन्त्रीबारे निर्णय भएपछि नाम घोषणा गरिने जानकारी दिएको सञ्चार माध्यमहरुले जनाएका छन्। भाजपामा उपमुख्यमन्त्रीको टुंगो नलाग्दा नीतीशकुमार आइतबार एक्लै राज्यपाललाई भेट्न गएकोसमेत चर्चा छ।
हालै भएको निर्वाचनमा नीतीशको पार्टी जनता दल यूनाइटेडले मात्र ४५ सिट जितेको थियो भने भाजपाले ७४ सिट जितेको थियो। विपक्षी गठबन्धन महागठबन्धनको मुख्य घटक राष्ट्रिय जनता दल ७५ सिट जितेर सबैभन्दा ठूलो दल बनेको छ। तर, गठबन्धनले ११० सिटमात्र जित्न सक्यो। सत्तारुढ एनडीए गठबन्धनले १२५ सिट जितेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *