२०८० असोज १२ गते | 29th of September 2023

नेपाल संवत्ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने छः राष्ट्रपति

नेपाल संवत्ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने छः राष्ट्रपति
Sanchar_np प्रकाशित: २०७७ मंसिर १ गते २०:१८

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मौलिक नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेसं ११४१ का अवसरमा आज मध्यपुरथिमिमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा आज दिएको शुभकामना सन्देशमा उनले नेपाली समाज सभ्य र सहिष्णु समाज भएकाले हाम्रा चाडपर्वलाई असल परम्पराले थप सुदृढ बनाउँदै लगेको जनाउँदै नेसंलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिइन् ।
शुभकामना सन्देशमा भनिएको छ, “लिच्छविकालीन राजा राघवदेवको समयमा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाःले यस संवत्लाई प्रचलनमा ल्याएको पाइन्छ, आजको दिन राष्ट्रिय विभूति साख्वाःको उक्त परोपकारी कामलाई स्मरण गर्दै समाजको उन्नति र प्रगतिमा निःस्वार्थ भावनाले अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।”
सुधारका नेतृत्वकर्ता साख्वाको विशेष स्मरणः प्रधानमन्त्री
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित भएको र एकताको राष्ट्रिय पूँजीलाई मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरिएको बताएका छन् ।
सिंगो देश नयाँ संविधानअनुरुप नयाँ संरचनागत भौतिक पूर्वाधार र मानवीय विकास क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताउँदै उनले एकतामार्फत समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांङ्क्षा पूरा गर्न सबैबाट समर्थन हुने विश्वास व्यक्त गरेका छन् ।
नेसंका सुखद् अवसरमा काठमाडौंँ उपत्यकामा तत्कालीन सुधारको नेतृत्वकर्ता तथा नेसंका प्रवत्र्तक साख्वाको विशेष स्मरण गर्न चाहेको बताउँदै प्रधानमन्त्री ओलीको शुुभकामना सन्देशमा भनिएको छ, “हामी जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका छौँ । यस अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछौँ।।”
कोरोना भाइरसको महामारीबाट बची विशेष सतर्कता अपनाउँदै चाडपर्व मनाउन उनले सबैमा आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *