२०८० असोज ५ गते | 22nd of September 2023

मुगुका लागि पठाउनुपर्ने जापानी चामल भक्तपुर पठाउने व्यापारी धौरटीमा छुटे

मुगुका लागि पठाउनुपर्ने जापानी चामल भक्तपुर पठाउने व्यापारी धौरटीमा छुटे
Sanchar_np प्रकाशित: २०७७ मंसिर ८ गते १८:२३

काठमाडौं। कर्णाली प्रदेशको मुगुका लागि प्राप्त जापानी चामल भक्तपुर पठाउने सुर्खेतका व्यापारी धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालयले चामलसहित पक्राउ परेका व्यापारी बासुदेव शर्मालाई ३ लाख ५९ हजार ५ सय रुपैयाँ र ट्रक चालक वीरेन्द्रकुमार थापालाई त्यसको आधा रकम धरौटीमा छाड्न आदेश दिएको हो।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोम महतले प्रारम्भिक सुनुवाईपछि धरौटीमा छाड्न आदेश दिएका हुन्। कालोबजारी ऐनअनुसार जिल्ला न्यायधिवक्ताको कार्यालय सुर्खेतले अधिकतम २ लाख ५० हजार रुपैयाँ जरिबाना र १ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। सो मुद्दामाथिको सुनुवाईमा जिल्ला प्रशासनले रंगेहात पक्राउ परेको ढुवानी व्यवसायी र ट्रक चालकलाई धरौटीमा छाड्ने आदेश दिएको हो। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी जिल्ला बाहिर रहेकाले निमित्त प्रमुख जिल्ला अधिकारी महतले आदेश दिएका हुन्। प्रमुख जिल्ला अधिकारीले सो आदेश सदर वा वदर गर्न सक्ने छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ढुवानीकर्ता रहेको शर्मा ढुवानी सेवाका प्रोप्राइटर शर्माले मुगुको कालै पठाउनुपर्ने जापानी चामल भक्तपुर पठाउँदै गर्दा कात्तिक १३ गते प्रहरीले नियन्त्रणमा लिएको थियो। शर्माले २ सय ५० क्विन्टल चामल भक्तपुरको अजय सप्लायर्सको नाममा पठाउँदै थिए। कम्पनीको सुर्खेतस्थित गोदामबाट प्रतिकेजी ५१ रुपैयाँ ५० पैसामा उठाएको चामल उनले प्रतिकेजी ४२ रुपैयाँको बिल बनाएर भक्तपुर पठाएका थिए। मुगुका लागि दिइएको सो चामल आफूले खरिद गरेकोभन्दा कम मूल्यमा किन भक्तपुर पठाउँदै थिए भन्ने विषय भने रहस्यमय बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *