एफएनसीसीआई चुनावको तयारी पूरा
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको शनिबार हुने निर्वाचनको तयारी पुरा भएको छ। महासंघको ५४ औँ वार्षिक साधारणसभाबाट महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भएकाले हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन्।
बाँकी पदहरुमा निर्वाचन हुनेछ। निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कर्यसमितिका लागि शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए।
महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ।
जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुने पनि पौडेलले जानकारी दिए।
यस्तै कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ। निर्वाचन विहान ८ बजे शुरु हुनेछ। यस्तै शनिबार राति नै मतगणना सम्पन्न गर्ने गरी तयारी भइरहेको पनि उनले बताए।
महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानल सहित उत्रिएका छन्। यस्तै वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्रतिस्पर्धा हुनेछ।
महासंघको नयाँ नेतृत्वका पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन्।
निर्धारित कार्यक्रम अनुसार गत चैतमा हुनुपर्ने साधारणसभा कोभिड–१९ का कारणले तीन तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन।
प्रतिक्रिया