शिक्षा आयोगको प्रतिवेदन छाप्ने दुई संस्थालाई सरकारले कारबाही गर्ने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रकाशन गर्ने दुई वटा संस्थालाई कारबाही गर्ने भएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा आइतबार जारी विज्ञप्तीमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपाललाई शिक्षा मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गरेको भन्दै कारबाही गर्न लागेको उल्लेख गरिएको छ ।
‘अनधिकृत रुपमा उल्लेखित गैह्र–सरकारी संस्थाहरूले यस मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गर्नुका साथै नेपाल सरकारको प्रतिलिपि अधिकारको समेत उल्लंघन गरिएको देखिएको हुँदा यस विषयमा प्रचलित कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखि पठाइसकिएको छ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायले दुवै संस्थासँग सहकार्य गर्दै आएको थियो । आइतबारदेखि लागु हुने गरी सहकार्य समेत विच्छेद गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।
प्रतिक्रिया