२०८० असोज १३ गते | 30th of September 2023

आफ्नै स्रोतसाधान र जनशक्तिबाट पहिलोपटक नापियो सगरमाथाको उचाइ

आफ्नै स्रोतसाधान र जनशक्तिबाट पहिलोपटक नापियो सगरमाथाको उचाइ
Sanchar_np प्रकाशित: २०७७ मंसिर २३ गते २०:०६

काठमाडौँ । विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले आज (मंगलबार) भिडियो कन्फरेन्स (भर्चुयल)का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो ।
नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी पहिलो पटक सगमाथाको उचाई मापन गरिएको हो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनका तर्फबाट चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्तरुपमा सगरमाथा (चोमोलोङमा)को नयाँ उचाइ ८८४८.८६ मिटर घोषणा गरेका हुन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्«पति विद्यादेवी भण्डारीको सन्देश पढेर सनाएका थिए । त्यस्तै चिनका तर्फबाट चिनियाँ विदेशमन्त्री यीले चिनियाँ राष्ट्रपती सि जिङफिङको सन्देश पढेर सनाएका थिए ।
नापी विभागको प्राविधिक कर्मचारीको टोलीले सर्वोच्च शिखर सगरमाथाको आरोहण तथा फिल्ड सर्वेक्षणका माध्यमबाट प्राप्त तथ्याङ्कलाई प्रयोगशालाबाट प्रशोधन गरी नयाँ उचाइ निकालिएको थियो । नेपालले सन् २०१८ देखी सर्भेक्षणको काम शुरु गरी उचाइ मापनको कार्य शुरु गरेको थियो भने, नेपालले सगरमाथा आरोहण गरेको एक वर्षपछी चिनले आरोहण गरेको थियो ।
नेपाल र चिनका प्राविधिकद्वारा प्रशोधन गरी निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गरिको हो । गत मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उचाइ घोषणाको स्वीकृति दिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्री परिषद्मा पेश गरेकोे प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।
गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।
नेपालले हालसम्म आधिकारिक रूपमा उल्लेख गर्दै आएको ८८४८ मिटर उचाइ भारतले सन १९५४ मा मापन गरेको हो । सन् १९५४ मा भारतले, सन् १९७५ मा चिनले, सन् १९८७ मा इटालीले, सन् १९९२ मा पुन इटालीले, सन् १९९९ मा अमेरिकाले, सन् २००४ मा इटालीले, सन् २००५ मा पुनः चिनले, सन् २०१० मा डेनमार्कले सगरमाथाको उचाइ मापन गरेका थिए । तर, ती सबैले फरकफरक मापन निकालेका थिए ।
वि.सं. २०७२ को भूकम्पपछि नापी विभागले काठमाडौं आसपासका केही ठाउँमा गरेको सर्वेक्षणबाट काठमाडौँका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो । त्यसैलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा परिवर्तन आएको हुनसक्ने अनुमान गरेका थिए । यस विषयमा विश्वमा समेत सगरमाथाको उचाइ घटेको भनेर चर्चा हुन थालेपछी नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरेको हो ।
२०७५ चैत २७ गते प्रधानमन्त्री केपी शर्मा ओली र भूमी व्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ मापन गर्न जाने आरोहण दलको टोलीलाई शुभकामना दिएर पठाएका थिए । प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल सँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पाले सगरमाथाको उचाइ मापन कार्यका लागि सगरमाथाको आरोहण गरेका थिए ।
मापनको वैज्ञानिकता र आधिकारिकता थप पुष्टी गरेको छ : मन्त्री ज्ञवाली
सगरमाथाको उचाइ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको आफ्नो स्रोतसाधन, जनशक्तिबाट उचाइ मापन गरी अन्तिम रुप दिइएको सगरमाथाको नयाँ उचाइ घोषणा हुँनु नेपाली प्राविधिक क्षमताको पनि नयाँ उचाइको पनि घोषणा भएको बताएका छन् ।
 
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री ज्ञवालीले सगरमाथाको बारेमा आधिकारिता, वैज्ञानिक तथ्य प्राप्तीसँग आम सहमती पनि भएको बताए । सगरमाथाको उत्तर भूभाग जनवादी गणतन्त्र चिनसँग सम्बद्ध रहेको भन्दै उनले विश्वसनीयताका लागि पनि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्नु आवश्यक रहेको बताए । ‘आज सगरमाथाको मात्र होइन नेपाली प्राविधिक क्षमताको पनि नयाँ उचाइ घोषणा भएको छ । सगरमाथाको बारेमा आधिकारिक, वैज्ञानिक तथ्य मात्र प्राप्त भएको छैन । की त्यो तथ्यसंग आम सहमति पनि भएको छ’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सगरमाथाको उत्तरी पाटो जनवादी गणतन्त्र चिनसँग सम्बद्ध छ । त्यसो भएकाले यसको विश्वसनीयताका लागि उचाइ संयुक्तरुपमा घोषणा गरिनु आवश्यक पनि थियो ।’
नेपालको नापी विभागले उचाइ मापन गरी गरेको तथ्यांक प्रशोधन गरेपछी आएको नतिजा चिनियाँ अधिकारीहरुले गरेको सर्भे र उनीहरुले निकालेको तथ्यांक मेल खानुले तथ्यहरुमा कुनै दुविधा वा भ्रमको अन्त्य भएको मन्त्री ज्ञवालीको भनाई थियो । ‘नेपालको नापी विभागले शुरु गरेर तथ्यांकहरु प्रशोधन गर्दै जुन विन्दूमा ल्याइपुर्याएको थियो । चिनियाँ मित्रहरुको सर्भे र उहाँहरुको तथ्यांक प्रशोधनमा पनि ठ्याक्कै त्यही नतिजा देखापरेका छन् । अब तथ्यहरुमा कुनै दुविधा, कुनै अन्यौल र कुनै भ्रमहरु बाँकी छैनन’, मन्त्री ज्ञवालीले भने, ‘यसले हाम्रो मापनको वैज्ञानिकता र यसको आधिकारिकता पनि थप पुष्टी गरेको छ । यसअर्थमा आज विशेष दिन, गौरव गर्न लायक र सम्झन लायक दिन हो ।’
मन्त्री ज्ञवालीले उचाइ मापनका क्रममा सगरमाथाको आरोहण तथा तथ्यांकहरुको प्रशोधन गरी अन्तिम नतिजा निकाल्नमा आ आफ्नो ठाउँबाट योगदान गर्ने सबै टिमलाई बधाई तथा धन्यवाद समेत दिए ।
इतिहासको दुर्लभ क्षणको साक्षी बनेका छौ : मन्त्री अर्याल
भूमी व्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाई मापन गरी घोषणा गर्ने इतिहासको दुर्लभ क्षणको साक्षी बनेको बताइन् । उचाइ घोषणा कार्यको विशिष्ट अतिथि तथा सगरमाथाको उचाइ मापन कार्यको अगुवाई गरेकी मन्त्री अर्यालले आजका दिनमा उचाई मात्र नबढेर नेपालको स्वाभिमान र सम्मान पनि बढेको बताइन् । ‘आज हामी इतिहासको दुर्लभ क्षणको साक्षी बनेका छौं । सगरमाथा मापनको १७० वर्षको इतिहासमा हामीले आफैले आफ्नो श्रोत साधन र जनशक्ति संसारको सर्बोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य सफलता पूर्वक सम्पन्न गरेका छौं । हामीले गरेको मापन कार्यबाट सरगमाथाको उचाइ सम्बन्धमा रहेका दुविधापूर्ण स्थिति र आशंकाहरुको अन्त्य भएको छ’, मन्त्री अर्यालले भनिन्, ‘आजका दिनमा सगरमाथाको उचाइ मात्र बढेन हाम्रो मुलुकको स्वाभिमान र सम्मान पनि बढेको छ । राष्ट्रले कुनै पनि क्षेत्रमा उत्कृष्टता हाँसिल गर्दा प्राप्त हुने खुशी र गर्वानुभुति आफैमा अनमोल हुन्छ । त्यसलाइ शब्दमा व्याख्या गर्न र त्यसको मुल्य हिसाब गर्न सकिदैन । यो एउटा विश्व किर्तीमान पनि हो । सगरमाथा शिखरमा सर्वेयरको पहिलो पाइला नेपालबाट परेको छ ।’
नेपालको गरिवी र वेरोजगारीको चर्चा गर्नेहरुले अब हाम्रो प्रविधी र क्षमताको चर्चा गर्ने बाउदै मन्त्री अर्यालले यो नेपालीको लागी सुखद क्षण भएको बताइन् ।
अनेकौं पटक विभिन्न देशले सगरमाथाको उचाइ मापन गरेको इतिहास भएता पनि प्रत्येक पटक फरक–फरक उचाई निकालेको बताउदै उनले ती सबै आशंका र दुविधाको निवारण गर्नुपर्ने अवस्था समेत रहेको बताइन् । अहिले ती सबै कुराहरु सफलता पूर्वक सम्पन्न गरेको बताउदै मन्त्री अर्यालले भनिन्, ‘आज हामी गर्वका साथ निशन्देह घोषणा गर्न सक्षम भएका छौं । सगरमाथाको उचाइ हो भनेर । आज हामी हाम्रो गौरव, हाम्रो श्रोत, हाम्रो सम्पत्ती हाम्रो धरोहर अरुले चिनाईदिनुपर्ने लघुताभाष र परनिर्भरताबाट मुक्त भएका छौं ।’
कार्यक्रममा बोल्नै भूमी व्यवस्था मन्त्रालयको सचिव टेकनारायण पाण्डेले सगरमाथाको नयाँ उचाइ मापन गरेर विश्व जगतमा आफ्नो नयाँ परिचय समेत दिन सफल भएको बताए । पहिलोपटक त्यो पनि आफ्नै स्रोतसाधनमा उचाई मापन गरेर नयाँ उचाइ सावैजनिक गर्नू निकै महत्वपूर्ण कार्य भएको भन्दै उनले यसले नेपालको परिचयन समेत फेरिएको बताए ।
त्यस अवसरमा सगरमाथाको उचाइ मापन कार्यको बारेमा जानकारी दिँदै नापी विभागका महानिर्देशन प्रकाश जोशीले पहिलोपटक आफ्नै स्रोतसाधन, जनशक्तिमा उच्च प्रविधिको प्रयोग गरेर नेपालले सगरमाथाको मापन गरेको भन्दै यो महत्वपूर्ण उपलब्धी रहेको बताए । शुरु अवस्थाको सर्भेक्षण देखी अन्तिम नतिजा ल्याउनका निम्ती विभागको ठूलो जनशक्तिको योगदान यस कार्यमा रहेको समेत उनले बताए ।
त्यस अवसरमा सगरमाथाको उचाइ मापन कार्यका लागि सगरमाथाको आरोहण, तथ्यांक प्रशोधन लगायत सम्पूर्ण कार्यमा संलग्न कर्मचारीहरुलाई सम्मानित गरिएको थियो ।
सगरमाथाको उचाइ सार्वजनिक भएको दिन मंगलबार विश्वभरका प्रमुख मिडियाहरुले समाचार प्रकाशित गरेका छन्। सिएनएन, बिबिसी, नेशनल जियोग्राफि, रोएटर्स, ग्लोबल टाइम्स, द हिन्दु लगाएतका मिडयाले प्रमुख रुपमा समाचार प्रकाशित गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *