२०८० असोज १३ गते | 30th of September 2023

प्राज्ञसभाबाट विभिन्न पुरस्कार घोषणा

प्राज्ञसभाबाट विभिन्न पुरस्कार घोषणा
Sanchar_np प्रकाशित: २०७७ पुष १ गते ११:२९

काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ। बैठकले रु दुई लाखको ‘नेपाल सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार’ प्रा डा वीरेन्द्रप्रसाद मिश्र र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ प्रा डा तेजरत्न कंसाकारलाई प्रदान गर्ने निर्णय गरेको छ।
रु एक लाख राशिको ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ हरिहर खनाल र रविमान लम्जेल तथा हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरिएको सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए।
बैठकले रु दुईदुई लाख राशिको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ भारत, आसामका लीलबहादुर क्षेत्री, ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने तीन हजार अमेरिकी डलर वा सो बराबरको ‘नेपाल प्रज्ञालङ्कार सम्मान’ चीनका प्रा वाङ हङ्वेईलाई प्रदान गर्ने निर्णय गरेको छ। बैठकले डा महेशराज पन्त र प्रा डा सूर्यप्रसाद सुवेदीलाई प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यता र आनन्ददेव भट्टलाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ।
बैठकले गत आवको खर्च पारित गर्दै चालु आवका लागि रु १९ करोड ५० लाखको बजेट पारित गरेको छ। सभाले वार्षिक नीति र कार्यक्रमसमेत पारित गरेको छ। बैठकमा कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कार्यक्रमको समीक्षा र भावी कार्यक्रमिक योजनाबारे सभामा छलफल भएको बताए। सभामा मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल शुभकामना सम्बोधन गरेका थिए।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *