नेकपा कार्यकर्ताहरुबीच पार्टी कार्यालय कब्जा गर्ने होडबाजी
काठमाडौं। पार्टी विभाजनको औपचारिक घोषणा नुहँदै नेपाल कम्युनिस्ट पार्टीभित्र पार्टीका कार्यालय कब्जा गर्ने संघर्ष शुरु भएको छ। नेकपा (ओली समूह) र नेकपा (प्रचण्ड समूह) पक्षबीच पार्टी कार्यालय कब्जा गर्न संघर्ष शुरु भएको हो।
विभिन्न जिल्लाहरुमा पार्टी कार्यालयमा ताला लगाउन शुरु भएको समाचारहरु प्राप्त भएका छन्। मंगलबार साँझसम्म प्राप्त समाचार अनुसार करिब आधा दर्जन जिल्लामा पार्टी कार्यालयमा दुई पक्षका कार्यकर्ताहरुले कब्जा जमाएका छन्।
सोमबार नै ओली पक्षले धुम्बाराहीस्थित केन्द्रीय कार्यालय कब्जामा लिएको छ। धुम्बाराहीमा ओली पक्षका कार्यकर्ताले तालाबन्दी गरिदिएका छन्। यस्तै लमजुङको जिल्ला पार्टी कार्यालयमा पनि सोमबार नै ओली पक्षले ताला लगाएको थियो।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता तथा कार्यकर्ताले कार्भेको बनेपास्थित नेकपा पार्टी कार्यालयमा छुट्टै ताला लगाएका छन्। तत्कालीन एमालेले निर्माण गरेको कार्यालयमा लगाइएको पुरानो ताला हटाएर ओली समूहले अर्को ताला लगाएको हो।
यस्तै नेकपा पश्चिम नवलपरासीको पार्टी कार्यालयमा तालाबन्दी भएको छ। केपी ओली समर्थक युवाहरुले मंगलबार दिउँसो परासीमा रहेको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन्। राष्ट्रिय युवा संघ, मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोर्टस एकेडेमीका सदस्यहरुले तालाबन्दी गरेर कब्जा गरेका हुन्।
यस्तै सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि जिल्ला कार्यालयमा दुबै समूहले तालाबन्दी गरेका छन्। शुरुमा प्रचण्ड–माधव समूहले पार्टी कार्यालयमा ताला लगाएको थियो भने पछि ओली पक्षले ताला लगाएको जनाइएको छ। यस्तै कैलालीको धनगढीस्थित नेकपा सुदूरपश्चिम प्रदेशको कार्यालयमा प्रचण्ड–माधव समूहले ताला लगाएको छ।
प्रतिक्रिया