२०८० मंसिर १८ गते | 4th of December 2023

प्रधानमन्त्री भएदेखि नै कष्टकर जीवन जिउने अवस्थाको अन्त्य गर्ने प्रयास गरिरहेको छुः प्रधानमन्त्री

प्रधानमन्त्री भएदेखि नै कष्टकर जीवन जिउने अवस्थाको अन्त्य गर्ने प्रयास गरिरहेको छुः प्रधानमन्त्री
Sanchar_np प्रकाशित: २०७७ पुष ७ गते २२:४१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा कष्टकर र अपहेलित जीवन जिउन बाध्य सहयोगापेक्षीलाई उद्धार गरी स्नेहपूर्ण जीवनमा फर्काउनु मानवीय कार्यको उत्कृष्ट नमूना भएको बताएका छन् । सहयोगापेक्षीको राष्ट्रिय उद्धार कार्यक्रमअन्तर्गत मानवसेवा आश्रमले थालेको मेची–महाकाली सडक यात्राको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राज्यले गर्नुपर्ने काम आश्रमबाट भइरहेकामा प्रशंसा गरे।
“सडकबाट सहयोगापेक्षीको उद्धार र संरक्षणको काम राज्यले गर्नुपर्ने हो, मानवीय भावनामा सरकारको ध्यान पुगेन”, प्रधानमन्त्री ओलीले भने, “आफू प्रधानमन्त्री भएदेखि नै कष्टकर जीवन जिउने अवस्थाको अन्त्य गर्ने प्रयास गरिरहेको छु ।” उनले पवित्र उद्देश्य राखेर मानिसलाई अपहेलित जिन्दगीबाट सामान्य जीवनमा फर्काउने र सामान्य जीवनमा फर्कन नसकेकाको पालनपोषण तथा संरक्षण गर्नेहरुका लागि सहयोगी हात बढ्दै जाने विश्वास व्यक्त गरे ।
उनले प्रधानमन्त्री भएदेखि नै चरम कष्टकर जिन्दगी बिताउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारी संयन्त्रमार्फत प्रयास गरिरहेका बेला आश्रमबारे जानकारी पाएपछि सहयोगको हात अघि बढाइएको स्मरण गरे । “यस्तो अभियानमा अरु पनि युवा जोडिँदै जानुपर्छ, नयाँ व्यक्तिलाई सहभागी गराइयो भने अभियानले निरन्तरता पाउँछ”, प्रधानमन्त्रीले भने ।
उनले सडकमा सहयोगापेक्षी मानव हुनुहुँदैन, समाजबाट कोही परित्यक्त हुनुहुँदैन भन्ने महान् अभियानमा सरकारको आवश्यक सहयोग र साथ रहने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले मानवीयता जस्तो पवित्र कार्यलाई राजनीतिक रङ नदिन सबैसँग अनुरोधसमेत गरे । मानवीय कार्यलाई राजनीतिक रङ दिएर विरोध गर्न सक्नेतर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले थपे, “मानवीयता जस्तो पवित्र कार्यमा राजनीतिको रङ हुँदैन, प्रधानमन्त्री भएको नाताले र मानवताको नाताले अभियानमा साथ दिनु मेरो कर्तव्य हो, त्यसकारण कार्यक्रममा उपस्थित भएको छु ।”
सरकारले आगामी वर्षभित्र नै मुलुकलाई बेसहारा सडकमानवमुक्त बनाउने योजना अघि सारेको छ । सोही अभियानअन्तर्गत आश्रमले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकमहिने उद्धार अभियान शुरु गरेको छ । “जसलाई खोज्न जाँदै हुनुहुन्छ, बाटामा तपाईँहरुले खोजेको कोही नभेटियोस्, रित्तो हात फर्किन परोस्”, प्रधानमन्त्री ओलीले कार्यक्रम सफलताको शुभकामनाका साथ भने ।
विसं २०६९ मा स्थापित आश्रमले हालसम्म पाँच हजार मानिसको उद्धार गरेको तथा एक हजार ५०० लाई नयाँ जीवन दिएर परिवारमा पुनःमिलन गराएको छ । हाल एक हजार १०० जना आश्रमका संरक्षणमा छन् ।
उक्त समारोहमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले मानवीय सेवाका लागि धनभन्दा मन हुनुपर्नेमा जोड दिइन्। सडकमा कष्टकर जीवन बिताइरहेका व्यक्तिलाई उद्धार गरी संरक्षण दिने र परिवार खोजेर पुनःमिलन गराउने आश्रमको प्रयासको जति सराहना गरे पनि नपुग्ने बताउँदै उनले विदेशी नागरिकको समेत उद्धार गरी सेवा दिनु मानवीयताको उच्चतम नमूना भएको बताइन् ।
आश्रमका अध्यक्ष रामजी अधिकारीले जाडोमा अन्तिम सास फेरिरहेको भावुक अवस्था देख्न नसकेर उक्त अभियान शुरु भएको जानकारी दिए। अध्यक्ष अधिकारीले आफ्नै परिवारले समेत सडकमा ल्याएर छाड्ने गरेको तीतो यथार्थ बताउँदै भने, “अहिलेका अवस्थामा हरेक मानिसमा मानवीयताको बीउ रोप्नुपर्छ, यस्ता आश्रम थप्ने होइन घटाउँदै जानुपर्छ, हाम्रो लक्ष्य यही हो, आजदेखि शुरु मेचीमहाकाली सडकयात्रा तीनै तहका सरकारलाई दायित्वबोध गराउने अभियान पनि हो ।”
समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ, नेपालका लागि बङ्गलादेशका राजदुत सलाउद्दिन नोमान चौधरी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, साहित्यकार स्नेह सायमी, गायिका आनीछोइङ डोल्मालगायतले आश्रमको मानवीय कार्यको प्रशंसा गरेका थिए।
यसैबीच प्रधानमन्त्री ओलीले चितवन र लमजुङका सडकमा कष्टकर जीवन बिताउँदै आएका बेला आश्रमले उद्धार गरी संरक्षण दिएका ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल) लाई राजदूत चौधरीको जिम्मा लगाए । दुवै जना परिवार पत्ता लागिसकेकाले बुधबार स्वदेश जाँदै छन् ।
राष्ट्रिय उद्धार अभियानअन्तर्गत मंगलबारदेखि शुरु भएको सडकयात्रामा निस्किएको आश्रमका ३५ सदस्यीय टोलीलाई प्रधानमन्त्री र उनकी धर्मपत्नीले राष्ट्रिय झण्डाको प्रतीकचिह्नसहित खादा ओढाएर बिदाइ गरे । मंगलबारै आश्रमको टोली मेचीका लागि प्रस्थान गरिसकेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *