संसदीय दलको नेता चयन भएपछि के भने प्रचण्डले ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुर्नस्थापना गरेर नयाँ सरकार गठन गर्ने बताएका छन् । बुधबार संसदीय दलमा चयन गरेपछि संक्षीप्त प्रतिक्रिया दिँदै उनले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए ।
‘मेरा लागि यो ठूलो जिम्मेवरी हो , यो जिम्मेवारी मैले निकै ठूलो चुनौतीको समयमा पाएको छु। ’ उनले भने, ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिबद्धता छ । ’
जनता र राष्ट्रका पक्षमा आफू लागिपर्ने बताउँदै सबै दलहरुलाई समेटेर संसद पूनः जिवित तुल्याउने उनले बताए ।
‘मेरो कोशिस प्रतिनिधि सभा जिवन्त राख्नमा लगाउने छु । नेपाली जनता र सांसदहरुको विश्वास जितेर जनता र राष्ट्रका पक्षमा काम गर्न मैले सबै तागत लगाउनेछु ।’ प्रचण्डले भने, ‘संघिय लोकतान्त्रीक गणतन्त्र मान्ने सबै राष्ट्रिय दलहरुलाई एकताबद्ध गरी सबैसँग सहकार्य गरेर प्रतिनिधि सभालाई जिवन्त तुल्याउनेछु।’
सिंहदरवार स्थित संसदभवनको ल्होसे हलमा भएको संसदीय दलको बैठकले उनलाई संसदीय दलमा चयन गरेको हो।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीलाई उक्त समूहले कारवाही गर्ने निणर्य गरेको थियो। उक्त निर्णय गरेपश्चात बसेको पहिलो संसदीय दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्रीका लागि तयार गर्न संसदीय दलको नेतामा चयन गरेको हो।
प्रचण्ड नेपाल समूहले ओलीको स्थानमा अध्यक्ष माधवकुमार नेपाललाई यस अघि नै चयन गरिसकेको छ। नेकपाको विवादका कारण अनौपचारिक रुपमा पार्टी फुटेपछि आधिकारिकताका लागि दुबै पक्षले आ–आफ्नो तर्फबाट कसरत गरिरहेका छन्।
पार्टीमा शक्ति समिकरणका कारण भएको शिर्ष नेताहरुको विवादका कारण नेकपामा तल्लो तहसम्म वैमनश्यता बढ्दै गएको थियो। यहि बेला ओली र प्रचण्ड–नेपाल समूहले छुट्टाछुट्टै भेला गरी आ–आफ्नो भेलालाई आधिकारिकताको दाबी गर्दै आएका छन्।
प्रतिक्रिया