२०८० असोज १२ गते | 29th of September 2023

अर्ग्यानिक खेती प्रणालीलाई प्रोत्साहन हुने कार्यक्रम बनाउन मन्त्री अर्यालकाे निर्देशन

अर्ग्यानिक खेती प्रणालीलाई प्रोत्साहन हुने कार्यक्रम बनाउन मन्त्री अर्यालकाे निर्देशन
Sanchar_np प्रकाशित: २०७७ पुष १६ गते १९:२३

ललितपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले अर्ग्यानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीहरुलाई निर्देशन दिएकी छन् । मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा बिहिवार मन्त्री अर्यालले कृषि विभाग र पशुसेवा विभागमा पुगेकी थिइन् ।
पुल्चोकस्थित विभागहरुको अनुगमन, निरिक्षण गर्दै मन्त्री अर्यालले विभागले हालसम्म सञ्चालन, सम्पन्न तथा शुचारु गर्दै आएका कार्यक्रमहरुका बारेमा जानकारी लिएकी थिइन्। कृषि विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्नसक्ने अवस्था अहिले नै नभएपनि यसलाई बिस्तारै कम गर्दै लैजानुपर्ने बताइन् । त्यसका निम्ती आवश्यक कार्यक्रम र कार्ययोजना बनाउन समेत मन्त्री अर्यालले कर्मचारीहरुलाई निर्देशन दिइन् । ‘अर्ग्यानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ । रासायनिक मलको प्रयोग अहिले भर्खरै बन्द गर्ने अवस्था छैन’, मन्त्री अर्यालले भनिन्, ‘तर अब प्राङ्गारिक मलमा जोड दिउँ । रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग बृद्धि गर्दै लैजाउ ।’
चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट शुरु हुनुपर्ने भन्दै उनले तलबाट नै किसानलाई प्रेरित गर्नेगरी कार्यक्रम बनाउनुपर्ने बताइन् । कृषकले कृषि कर्म गर्नका निम्ती मल, बिउ, बेर्ना पाउन सकेनन् भन्ने समस्याको अन्त्य गर्नेगरी लाग्न समेत उनले कर्मचारीहरुलाई निर्देशन दिइन् ।
मन्त्रालयले वितरण गर्दै आएको अनुदान कार्यक्रमको अवस्थाका बारेमा समेत लेखाजोखा गर्न निर्देशन दिँदै उनले अनुदान कार्यक्रमको प्रभावकारी अनुगमन कार्य अगाडी बढाउन निर्देशन दिइन् । ‘हाम्रा अनुदानले कति प्रतिफल प्राप्त भएको छ ? त्यसको लेखाजोखा गर्नुस्’, मन्त्री अर्यालले भनिन्, ‘अनुदानका कार्यक्रमलाई पुर्नविचार गरौं । यही तरिकाले अनुदान प्रभावकारी हुन सक्दैन ।’ राम्रा कामलाई निरन्तरता हुने ढंगले अगाडी बढ्नुपर्ने भन्दै उनले सोच र कार्यशैली बदलेर कामलाई अगाडी बढ्न निर्देशन दिइन् ।
निर्वाहमूखी कृषि प्रणालीको अन्त्य गरेर व्यवसायिक कृषि प्रणालीमा जोड दिनुपर्ने बताउदै मन्त्री अर्यालले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न व्यवसायिक कृषि प्रणालीमा जोड दिनैपर्ने बताइन् ।
यसैबीच पशुसेवा विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले मासु, दुध र माछामा आत्मनिर्भर भयौं भन्ने ढंगले तयारी अगाडी बढाउन कर्मचारीहरुलाई निर्देशन दिइन् । बजारमा देखिएको बोयर बाख्राको मागको पुर्ती गर्नेगरी काम गर्न समेत निर्देशन दिइन् । पशुपंक्षीका क्षेत्रका सूचना प्रणालीलाई व्यवस्थित गर्न आग्रह गर्दै मन्त्री अर्यालले प्रत्येक दिनको सूचना अपडेट हुनेगरी सूचना प्रणाली विकास गर्न कर्मचारीलाई निर्देशन दिइन् ।
कोभिड–१९ संक्रमणका कारण मुलुक लकडाउनको स्थितीमा रहेका बेला किसानहरुको दुध बिक्रि नभएर सडकमा पोख्ने अवस्थाको स्मरण गर्दै उनले दुध बिक्रि नहुँदा पनि त्यसबाट उत्पादित हुने परिकारहरु बनाउने सीप तथा औजारहरु किसानलाई प्रदान गर्न निर्देशन दिइन् ।
अल्पकालिन, मध्यकालिन र दिर्घकालिन कार्ययोजना बनाएर मन्त्रालयमा पेश गर्न निर्देशन दिँदै मन्त्री अर्यालले कार्ययोजना बनाउदा कृषिले पशु र पशुले कृषिबाट अलग हुनेगरी नबनाउन समेत निर्देशन दिइन्। ‘अल्पकालिन, मध्यकालिन र दिर्घकालिन स्पष्ट खाका सहितको कार्ययोजना बनाएर पेश गर्नुहोला । कार्ययोजना बनाउदा कृषिलाई एकातिर र पशुलाई एकातिर बनाएर हुदैन । कृषि र पशुपंक्षी भनेका एकअर्काका परिपूरक हुन्’, मन्त्री अर्यालले भनिन् ।’
अनुगमन नतिजालाई हेरेर काम अगाडी बढाउदै भोली कसैले प्रश्न गर्न नसक्नेगरी अनुगमन गर्न निर्देशन दिइन् । उनले भनिन्, ‘बिकृति नआउनेगरी काम गर्नुहोला । स्वस्थ अनुगमन प्रणाली विकास गर्नुस । वार्षिक कार्यक्रममा केन्द्रित हुदै तथ्यमा आधारित भएर काम गर्नुस् ।’
त्यस अवसरमा बोल्दै मन्त्रालयका कृषि सचिव डा योगेन्द्रकुमार कार्कीले मन्त्रालयको बित्तिय प्रगती बढाउने लक्ष्य रहेको भन्दै त्यहीअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रम संशोधन गर्नुपर्ने आवश्यकता भएमा संशोधन गरेर भएपनि काम देखिनेगरी अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।
त्यसैगरी पशुपंक्षी सचिव डा प्रेमनारायण कँडेलले मन्त्रालयको लक्ष्य र कार्यसम्पादनको तालमेल मिल्नुपर्ने भन्दै एक महिनाभित्र विशेष योजना बनाएर पेश गरिने बताए । केही आन्तरिक व्यवस्थापन गर्न आवश्यक भएको भन्दै उनले पशु स्वास्थ्य र मानव स्वास्थ्यको सम्बन्ध प्रत्यक्ष जोडिएकाले पशु स्वास्थ्यलाई बढी जोड दिएर हेर्नुपर्ने बताए ।
त्यस अवसरमा कृषि विभागका महानिर्देशक डा गोविन्दप्रसाद शर्मा, उपमहानिर्देशक बेनुप्रसाद प्रसाई, पशु सेवा विभागका निमित्त महानिर्देशक डा दमयन्ती श्रेष्ठले विभागका कामकारबाहीका बारेमा प्रस्तुतीकरण दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *