सात वर्षीया सुजन जिरेल भन्छन्–मलाई पढ्ने ठूलो धोको छ
काठमाडौं। राजधानीको प्रदर्शनी मार्गलाई नेपालको शैक्षिक हबका रुपमा चिनिन्छ। प्रदर्शनीमार्गमा अधिकांश क्याम्पस छन्। नजिकै बालबालिकाको मनोरञ्जनका लागि फन पार्क संचालनमा छ। प्रदर्शनीमार्ग हुँदै सयौं स्कुल र कलेजका गाडी हुइँकिन्छन्।
तर त्यही प्रदर्शनी मार्गमा एक जना यस्ता बालक छन् जसको दैनिकी सुर्तीजन्य पदार्थ बेच्दै बित्छ। नेपालको संविधान अनुसार १८ वर्ष मुनिका बालबालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाइँदैन।
तर आर्थिक स्थिति कमजोर भएका दोलखाका सुजन जिरेलको विहानको सुरुवात भने चुरोट खैनी, गुट्खा बेचेर सुरु हुन्छ। सात वर्षका जिरेलले बाहिरैबाट स्कुल कलेज देखेपनि अहिलेसम्म उनी स्कुल प्रवेश गरेका छैनन्। उनकी ६२ वर्षीया हजुरआमाले नाङ्लोमा चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थको व्यापार गर्छिन्, हजुरआमालाई सघाउनु सात वर्षीय जिरेलको दैनिकी हो।
पुसको चिसो जाडोसँगै उनका न्यानो सपनाहरु चिसिएका छन्। कठ्याङ्ग्रिने जाडोमा बिहानै आशालाग्दो भावले उनी ग्राहक कुरिरहन्छन्। बृद्ध हजुरआमाले मातृवात्सल्यले बर्कोमा लुकाउँदा उनी त्यही निदाउँछन्।
६२ वर्षीया बृद्ध हजुरआमा धनमाया जिरेल भन्छिन्, ‘सरकारले हामी जस्तो गरिब,बृद्ध, असाहय केटाकेटीलाई अपमान गर्यो। महानगरको कर्मचारीले धेरै पटक नाङ्लोसहित सबै सामान सडकमै फालिदिएको छ। नमीठो गाली पनि गर्छन्, अहिले पनि कति बेला अएर फाल्दिने हो गाह्रो छ हामी जस्ता गरिबलाई यो शहरमा बाँच्न।’
सानो नातिलाई पढाएर जागिरे बनाउने उनको धोको छ। ‘तर हामी गरिबको रहर पूरा हुने कि नहुने हो, गरिब भनेपछि दैव पनि निष्ठुरी हुँदोरहेछ,’ उनले गुनासो गरिन्।
दिनभर धुँवा र धुलो खाएर नाङ्लोको पसल कुर्दा एक रुपैयाँको पनि व्यापार नहुँदा उनलाई परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउँछ।
‘छोराले कान्छी श्रीमती लिएर घर छोडिहाल्यो, यही नातिको मायाले बाँचेकी छु,’ उनले भनिन्।
सरकारले कोही बालबालिका शिक्षाबाट बञ्चित हुनु नपरोस भनेर विद्यालय भर्ना अभियान पनि सञ्चालन गर्यो, कतिपयको अभिभावकत्व ग्रहण गरेका पनि समाचार आए, तर राजधानीको मुटुमा रहेका सात वर्षीय जिरेलमाथि कसैको पनि आँखा परेन।
सात वर्षीय जिरेलको पढ्ने धोको कहिले पूरा हुने हो उनलाई नै थाहा छैन। उनका बुवाले कान्छी आमा ल्याएपछि उनको पढ्ने धोको पूरा हुन सकेन। अहिले उनलाई ६२ वर्षीया हजुरआमाले काठमाडौं ल्याएकी छन्। नाङ्लोमा व्यापार गरेर नाति पाल्दै गरेकी हजुरआमाको एउटै धोको छ नातिलाई पढ्ने व्यवस्था गर्न सकियोस्।
प्रतिक्रिया