२०८० असोज १३ गते | 30th of September 2023

प्रहरी अधिकृतहरुलाई निर्वाचन सुरक्षाका लागि तयारी गर्न आईजीपी थापाको निर्देशन

प्रहरी अधिकृतहरुलाई निर्वाचन सुरक्षाका लागि तयारी गर्न आईजीपी थापाको निर्देशन
Sanchar_np प्रकाशित: २०७७ पुष २३ गते २०:०४

काठमाडौं। प्रहरी महानीरिक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले मातहत निकायका प्रहरी अधिकारीहरुलाई निर्वाचन सुरक्षाका लागि तयारी गर्न निर्दैशन दिएका छन्। मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्न आयोजित कार्यक्रममा आईजीपी थापाले सो निर्दैशन दिएका हुन्।
आईजीपी थापाले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उनीहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्दै सो निर्दैशन दिएका थिए। प्रहरी नायव महानिरीक्षकमा बढुवा हुनेहरुमा गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्द राज आचार्य छन्।
समारोहमा प्रहरी महानिरीक्षक थापाले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरुलाई बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए। उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले प्रचलित कानून र संगठनको नीति निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसैगरी प्रहरी महानिरीक्षक थापाले सरुवा भई जान लागेका प्रहरी उपरीक्षकहरु र प्रहरी नायव उपरीक्षकहरुलाई हालको परिस्थितिलाई मनन् र विष्लेषण गरी सोही अनुरुपको कार्य योजना बनाई अगाडि बढ्न निर्देशन दिए। हालको सुरक्षा चुनौति व्यवस्थापन, तस्करी तथा गुन्डागर्दी नियन्त्रण र नेपाल सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्नुपर्नेमा उनको जोड थियो।
उनले हालै संगठनले लागू गरेको नेपाल प्रहरी कार्य योजना र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता लगायतका नीति निर्देशनलाई अक्षरस पालना गरी लागू गर्नुपर्ने बताए। ‘सेवाग्राहीले देख्ने र भोग्ने गरी प्रहरी कार्यमा सकारात्मक परिवर्तन आएमा तपाईको उपस्थिति सार्थक हुने हुनाले सबैले आफ्नो कर्तव्य र संगठनले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ,’ महानिरीक्षक थापाले भने। कार्यालय व्यवस्थापन, साधन स्रोतको उचित परिचालन र मर्मत सम्भार लगायतका दैनिक क्रियाकलापमा विशेष ध्यान दिई चुस्त दुरुस्त रुपमा प्रस्तुत हुन समेत उनको निर्देशन थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *