परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने
काठमाडौं । आउँदो माघ १ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा यही माघ १ गते परराष्ट्रमन्त्री भारत भ्रमणमा जान लागेको जानकारी दिएका हुन्।
सम्बोधनका क्रममा उनले भने, ‘१४ तारिखमा परारष्ट्रमन्त्री भारत भ्रमणमा जानु हुने भएको छ। मैले गौरीफण्डा नाकालाई व्यवस्थित गर्नका लागि भारतसँग कुरा गर्न पनि भनेको छु।’
नेपाल भारतको सम्बन्ध विग्रिरहेका बेला परराष्ट्र मन्त्रीको भारत भ्रमण अर्थपूर्ण रहने छ। नेपालमा संसद विघटन भएपछि अर्थमन्त्रीको भारत भ्रमण हुन लागेको हो।
यसअघि नै भारतीय विदेश सचिव नेपाल भ्रमणमा आएका बेला परराष्ट्रमन्त्रीलाई भारत भ्रमणको निम्तो दिएका थिए। नेपालले पश्चिमको कालापानी, लिपुलेक र लिम्पियाधुरा समाबेस गरेर नक्सा जारी गरेपछि नेपाल भारत संवादहिनता थियो।
उक्त संवादहिनता चिर्दै भारतबाट विदेश सचिव, रअका प्रमुख र सेनाका प्रमुखले नेपालको भ्रमण गरेका थिए। राजनीतिक अस्थिरता र सीमा विवाद कायम रहेका बेला परारष्ट्रमन्त्री ज्ञावालीको भारत भ्रमण हुने प्रधानमन्त्रीले बताएका छन्।
प्रतिक्रिया