विदेशमा यो साता कोरोनाबाट तीन नेपालीको मृत्यु, ३१७ पुग्यो मृत्यु हुने नेपालीको संख्या
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट यूकेमा दुई जना र मलेसियामा एक गरी तीन जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता विदेशमा थप तीन जनाको निधन भएको हो।
एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या २० देशमा गरेर तीन सय १७ पुगेको छ। संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार आठ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५१ हजार एक सय १६ जना कोरोनामुक्त भएका छन्। यो कूल संक्रमितको ९३ प्रतिशत हो।
संघको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथअफ्रीका, यूके, भारत, यूएईमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।
नेपालमा भने कोरोना भाइरसका कारण एक हजार नौ सय १२ जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६४ हजार एक सय ५९ छ भने दुई लाख ५७ हजार दुई सय २९ जना अर्थात् ९७.१ प्रतिशत कोरोनामुक्त भएका छन्।
करिब दुई लाख जनाको उद्धार, नौ हजार छसय ५० श्रमिकलाई राहत
एनआरएनए र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा कोभिड–१९ को विश्वव्यापी प्रभावपछि एक लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा.बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनःरोजगारीमा फर्काउन गैरआवासीय नेपाली संघ सकृय रुपमा लागेको छ।
विदेशका विभिन्न देशमा नौ हजार छसय ५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पिसीआर टेष्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको संघले जनाएको छ।
संघले साउदी, मलेसिया, कतार, संयुक्त अरबइमिरेट्स (यूएई), बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ। विभिन्न दातृ संस्थाहरुद्वारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएका आदिलाई आर्थिक सहयोग गरिएको संघले जनाएको छ।
हालसम्म एनआरएनएले आठ सय ६२ जनालाई काठमाडौंबाट गन्तव्यसम्म पुग्न निःशुल्क बस भाडा स्वरुप आर्थिक सहयोग समेत गरेको जनाएको छ। संघले देशका सातै प्रदेशमा १४ लाख रुपैयाँ बराबारको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
प्रतिक्रिया