माघे संक्रान्ति जात बिशेष नभएकाले हामीलाई सामाजिक रुपमा एकीकृत बनाएको छ : डा. टण्डन
काठमाडौं। देशभर माघि पर्व विभिन्न कार्यक्रम गरी मनाईएको छ। विहानैदेखि देशका विभिन्न नदिहरुमा भक्तजनहरुको घुइचो लागेको देख्न सकिन्छ। कोरोनाको कारण मेला महोत्सव पनि हुन नसके पनि भक्तजनहरुले आ–आफ्नो सामाजिक र सास्कृतिक मान्यताअनुसार माघि पर्व मनाएका छन्।
माघि पर्व देशका विभिन्न सथानहरुमा फरक फरक तरिकाले मनाउने गरिन्छ। संस्कृतिविद् डाक्टर गोविन्द टण्डनका अनुसार सूर्य धनुराशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ। डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धमा जाने भएकाले रात छोटो र दिन लामो हुन्छ भन्ने मान्नेता छ।’
माघि भौगोलिक, जातीय र साँस्कृतिक विविधताले धनि नेपाल र नेपालीहरुको महत्वपूर्ण पर्व पनि हो। विषेश गरेर थारु र मगर समूदायले यसलाई भव्यताका साथ मनाउने गर्छन्। डा. टण्डनले भने, ‘विषेश गरी नेपालमा कमैया प्रथाको अन्त्य भएसँगै यो समूदायले माघी पर्वलाई नयाँवर्षका रुपमा पनि मनाउँदै आएको छ।’
नेपालमा प्राचिन कालदेखि विभिन्न जातजाति, धर्मसंस्कृति, रितिरिवाज र परम्पराको संगम स्थल भएकाले हरेकले आ–आफ्नो विशेषताले यो पर्व मनाउने गरेको टण्डनको भनाई छ।
‘मकर संक्रान्तिका प्रमुख बिशेषता भनेकास्नान हो।’ संस्कृतविद् टण्डनले भने, ‘यो दिन बिहानै पवित्र खोला, नदी तालमा गएर स्नान गर्ने प्रचलन छ। सम्भव भए गंगा नदि नभए पवित्र जलाशयको प्रयोग गर्नु भन्ने धार्मीक मान्यता छ।’
यो दिन नेपालका जलाशयहरु बराहक्षेत्र, देवघाट, दोलालघाट, रिडी, पनौती लगाएत ठाउँमा स्नान गर्ने, श्राद्ध गर्नेहरुको घुइृचो हुन्छ । स्नान पछी पूजाआजाका साथ तरुल, घिउ, चाकु, तिलको परिकार सेवन गर्ने चलन छ। विवहा, ब्रतबन्ध लगायत शुभ कार्यको प्रारम्भ आज बाट नै सुरु गरिने डा. टण्डनको भनाई छ।
आजको दिन दान, दक्षिणा गर्दा मोक्ष प्राप्ती हुने पाप नष्ट हुने शास्त्रीय मान्यता रहेको उनले बताए। उनले भने, ‘नेपाल धार्मीक सद्भाव र सहित्सुणताको देश भएकाले यो प्राय सबै समुदायमा मनाईन्छ । यो पर्व कुनै जात बिशेष नभएकाले हामीलाई सामाजिक रुपमा एकीकृत बनाएको छ।’
आज खाने घिउ, चाकु, तरुल, खिचडी, तिलको परिकारको आयुृर्वेदिक महत्व रहेको पनि डा. टण्डनले जानकारी दिए। यस्ता खानेकुराको सेवनले तापक्रम सन्तुलित बनाउने विश्वास छ। उनले भने, ‘यस्ता पञ्चतत्व अमृत समान हुने भएकाले शरिरको रोग संग लड्ने प्रतीरोधात्मक क्षमता बृद्धि हुने मान्यता छ।’
आजको दिन विशेष गरि प्राकृतिक खानेकुरा तरुल, घिउको माग उच्च हुने भएकाले आयस्रोतमा लाभ हुनुका साथै प्राकृतिक खानेकुराको संरक्षण हुन्छ।
प्रतिक्रिया