२०८० असोज १३ गते | 30th of September 2023

प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती थप्योः माधवकुमार नेपाल

बहुमतको निर्णय नमान्दा यो अवस्थाः प्रचण्ड

प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती थप्योः माधवकुमार नेपाल
Sanchar_np प्रकाशित: २०७७ माघ ५ गते २०:१८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि गम्भीर चुनौती थपिएको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक तथा भेलालाई सम्बोधन गर्दै उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि रक्षा गर्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध लड्ने आँट, साहस र हिम्मत अगाडि बढाउनुपर्ने बताए । “अहिले अग्निपरीक्षा शुरु भएको छ, जो सङ्कटका बेला खुट्टा कमाउँछ, त्यसले मुलुक र जनताको हित गर्न सक्दैन”, उनले भने, “चुनौती सामान गर्न उच्च मनोबल र दृढ आत्मविश्वास हुनुपर्छ ।”
नेपालमा कम्युनिष्ट आन्दोलन जन्माउने, हुर्काउने र अगाडि बढाउनेमा महिलाको सशक्त भूमिका रहेको स्मरण गर्दै उनले जनताले प्राप्त गरेको अधिकार कुण्ठित हुँदा चुप लागेर बस्न नहुने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान र पद्धति उल्लङ्घन गर्दा पार्टीभित्र समस्या देखिएको उनको भनाइ थियो । “प्रधानमन्त्रीले पार्टी विधान उल्लङ्घन गर्नुभयो, पार्टीले उहाँलाई अध्यक्षबाट हटाएको छ, पटकपटक पार्टी अनुशासन उल्लङ्घन गरेकाले उहाँ (ओली) लाई अन्तिम स्पष्टीकरणको पत्र पठाएका छौँ”, उनले भने ।
कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने बताए । उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन आन्दोलनमा उत्रनाको विकल्प नभएको स्पष्ट पारे ।
अध्यक्ष दाहालले भने, “जनताले ७० वर्ष लडेर ल्याएको उपलब्धि रक्षाका लागि सङ्घर्षमा होमिनुको अहिलेको आवश्यकता हो ।” उनले प्रधानमन्त्री ओलीका कारण अहिलेसम्म प्राप्त उपलब्धि खतरामा परेको टिप्पणी गरे ।
पूर्वप्रधानमन्त्री दाहालले पार्टीभित्रको विवाद लिएर पदसँग जोडेर हेर्ने गरिएकामा आपत्ति जनाउँदै पार्टीभित्र विधि र विधानको मात्र विवाद भएको बताए । “प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमानेर सङ्कटको अवस्था आएको हो”, उनले भने । उनले पार्टीभित्रको समस्याको विषयमा छलफल नै नगर्ने र बहुमतको निर्णय पनि नमानेको कारण अहिलेको स्थिति आएको बताए। पार्टी एकता हुँदा जारी राजनीतिक प्रतिवेदन नै एकताको आधार भएको उल्लेख गर्दै उनले भने, “ नियम र विधि नमान्दा पार्टी विभाजित भयो ।”
अनेमसङ्घका सहइञ्चार्ज कमला रोकाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत उपलब्धि ल्याउन महिलाको भूमिका उल्लेख्य रहेको बताउँदै सरकारको कदमविरुद्ध लड्न फेरि पनि महिला तयार हुनुपर्नेमा जोड दिइन् ।
भेलाले अनेमसङ्घका संयोजकमा अमृता थापा र सहसंयोजकमा जयन्ती राईलाई चयन गरेको छ । अनेमङ्घले प्रतिनिधिसभा विघटनविरुद्ध मङ्गलबार राजधानीमा र्याली निकाल्ने तयारी गरेको छ ।
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *