आमाबुबाको खुट्टा ढोगेर कसैलाई संक्रामक रोग लागेकाे छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई व्यङ्गय गर्दै आमाबुबाको खुट्टा ढोगेर कसैलाई संक्रामक रोग नलागेको बताएका छन। प्रेस संगठन नेपालको दोश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दैै प्रधानमन्त्रीले नेपाली पत्रकारितामा प्रयोग गरिने ‘तिमी’ भन्ने शब्दप्रति ब्यङ्गय गरेका थिए।
उनले भने, ‘हाम्रो समाजमा हामीले आफ्ना आमा बुलाबालाई हजुर भन्दै आएका थियौं। पश्चिमाहरुले सबैलाई ‘यू’ भनेर सम्बोधन गर्ने गरेका छन। हामीले उनीहरुको संस्कारलाई प्रयागमा ल्यायौं। सबैलाई तिमी भन्न थाल्यौं।’
‘राजतन्त्रका बेला राजा वा उनका परिवार जानुलाई ‘सवारी भयो’, खानुलाई ‘ज्यूनार भयो’ र भन्नुभयोलाई ‘हुकुम बक्सियो’ लेखिन्थ्यो’ ओलीले भने, ‘अहिले त खानु भयो, भन्ने पनि छैन। ‘खाए रे, गए रे, बताए रे’। देशको संस्कार माथि प्रहार भएपछि उपनिवेश बनाउन सजिलो हुन्छ भन्ने अरुको रणनीतिलाई हामीले बढवा दियौं। म अनुरोध गर्छु। हामी सभ्यता भएका मान्छे हौं। देशभक्ति हुनु पर्छ।’
उनले भने, ‘सबै भन्दा पहिला हामीले देश बनाउने हो भने, बचाउने हो भने मति ठिक ठाउँमा राख्नु पर्छ। मति ठिक भएन भने बुद्धिको काम छैन। बुद्धिमान मान्छे मति भ्रष्ट भयो भने के हुन्छ ? बुद्धिमान चोर भायो भने पुलिसले पनि समाउन सक्दैन।’ बुद्धिमानहरुले मति विगारेमा देश दुर्घटनामा जाने उनको भनाई थियो।
‘मतिहीन मान्छे बुद्धिमान भयो भने बरबाद हुन्छ’ ओलीले भने, ‘ज्ञान भनेको विषयगत कुरा हो। ज्ञान भनेको इतिहास हो। ज्ञान भनेको अरुले प्राप्त गरेका अनुभवको संग्रह हो। हामीले मतिलाई ठिक ठाउँमा राख्ने। बुद्धिलाई जनता र मानव जातिका लागि प्रयोग गर्ने। ज्ञानलाई आधार बनाएर रचनात्मक ढंगले अगाडि बढ्ने। इनोभेटिभ बुद्धिले मात्र विकास हुन्छ।’
‘हामी आज कहाँ छौ भन्ने कुरा र हाम्रा कामको परिणाम के हुन्छ भन्ने बुझ्नु पर्छ।’ प्रधानमन्त्रीले कुन्ति मोक्तानको गीत ‘आगो भरभरायो’को स्मरण गर्दै भने, ‘एक जमाना थियो। चरालाई चिठी बोकाएर पठाउने। आगो भरभराएपछि सन्देश आउँने। आमाको छाति चर्केपछि सन्तानलाई संकट परेको बुझिने। प्रविधिको विकासले हाम्री आमाको छाति चर्केर संन्तान संकटमा पर्यो होला भन्ने सेन्सिटीभिटीलाई पनि खाइसक्यो।’
२०औँ सताब्दीमा यातायात, संचार क्षेत्रमा असाधारण प्रगति भएको उनले बताए। सामाजिक परिवर्तन, जागरण र चेतनाका सम्बन्धमा वा बैज्ञानिक खोजको क्षेत्रमा यो असाधारण प्रगतिको शताब्दी रहेको ओलीको भनाई थियो। ‘दुई पटक किड्नी फेरेर ४ वटा किड्नी लिएर काम गरिरहेको मान्छे म तपाईँकै अगाडि छु।’ ओलीले स्वास्थ्य क्षेत्रमा भएको परिवर्तनको संकेत गर्दै भने, ‘यो स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको कुरा हो। १९७१ पछि किड्नीको सफल ट्रान्सप्लान्ट भएको थियो।’
प्रतिक्रिया