२०८० असोज ७ गते | 24th of September 2023

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री
Sanchar_np प्रकाशित: २०७७ माघ १५ गते १८:०५

काठमाडौं। नेकपा (ओली) समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताएका छन्। नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई काठमाडौंमा बिहीबार सम्बोधन गर्दै उनले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र स्वार्थी प्रवृत्तिको किनारा लागेको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘पार्टी शुद्धीकरणको अभियान चलेको छ, कोही पनि निराश हुनु पर्दैन, आज पार्टीमा जुन एकता देखिएको छ, त्यो कति वर्षदेखि थिएन, आज हाम्रो पार्टी सबैभन्दा बढी एकताबद्ध पार्टी भएको छ। सबैभन्दा अनुशासित पार्टी हाम्रो पाटी हो।’
उनले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताए। अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुुनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न कम्युनिष्ट पार्टी मजबुत हुनुपर्ने बताए।
‘सही विचार बोकेको र एकताबद्ध कम्युनिष्ट पार्टीले मात्र आन्दोलनलाई गति साथ हाँक्न सक्छ’, उनले भने, ‘हामीलाई अनुशासित र गतिशील पार्टी चाहिएको छ, आज हाम्रो पार्टी त्यस्तै बनेको छ, आज हामी विचारमा कुनै अलमलमा छैनौँ।’ सरकार सुखी नेपाली समृद्ध नेपालीको नारा बोकेर अघि बढेको र त्यसबाट किञ्चित पछि नपर्ने दृढता व्यक्त गरे।
आफूले बारम्बार योग्यता र क्षमता भएका व्यक्तिलाई कामको जिम्मेवारी दिन खोज्दा भाग खोजेर हैरान पारेको गुनासो उनले गरे। सरकारले गरेको जनपक्षीय कामलाई गुमराहमा राखेर केही सञ्चारमाध्यममले सरकारको कामको खोइरो मात्र खनेको आरोप लगाउँदै उनले वामपन्थी सरकार ढाल्ने अभियानमा पार्टीभित्रैका केही व्यक्ति लागेको बताए।
नेपालको परिवर्तनमा मजदूर आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सम्पूर्ण श्रमिकलाई एकताबद्ध बनाएर लैजान आग्रह गरे। मजुदूर आन्दोलनलाई विभाजित गर्ने प्रयास भइरहेका तर्फ सचेत हुन आग्रह गर्दै उनले विभाजित व्यक्तिलाई पनि एकताबद्ध बनाएर लैजान सुझाव दिए।
‘बाटो विराएका मजदूर साथीलाई यस बाटोमा समाहित गर्नुपर्छ’, उनले भने, ‘नेपालमा एकताबद्ध मजदूर आन्दोलन निर्माण गरिनुपर्छ।’ करार र दैनिक ज्यालादारीमा रहेका ३० हजार सरकारी कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले अब नेपालमा कोही पनि भोकै नमर्ने रनपर्ने जिकिर गरे। बेसहाराको अभिभावकत्व सरकारले लिने बताउँदै उनले बालबालिका तथा ज्येष्ठ नागरिकको प्रबन्ध पनि सरकारले गर्ने बताए।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले सरकारले मजदूरका पक्षमा विभिन्न कदम चालेको बताए। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जिफन्टका पूर्वअध्यक्ष विष्णुप्रसाद रिमालले पार्टीकै शीर्ष नेताले जहिले पनि सरकारका कामको विरोध गर्दै आएको आरोप लगाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *