निर्वाचन आयोगले नेकपाका दुवै समूहसँग छलफल गर्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ। शुक्रबार आयोगमा छलफलका लागि उपस्थित हुन नेकपाका ओली समूह र प्रचण्ड–नेपाल समूहलाई बोलाइएको आयोगका सह–प्रवक्ता उपसचिव कोमल प्रसाद धमलाले जानकारी दिए।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेका छन्। वैशाख १७ गते र २७ गते निर्वाचन गराउनु पर्ने आयोगलाई जिम्मेवारी छ भने दल दर्ता गर्नेबेलासम्म पनि नेकपाका दुई समूहबीच मतभेद कायम रहेका बेला आयोगले छलफलका लागि बोलाएको हो।
प्रतिनिधिसभा विघटनको विरुद्धमा परेको रिटहरुमाथि छलफल चलिरहेको छ। संसद पुनस्र्थापना नभए आयोगले २०७८ को बैशाख १७ गते र २७ गते निर्वाचन गराउनु पर्ने छ। प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा निर्वाचन हुने बताएका छन्।
विवादपछि दुई समूहमा विभाजन भएको नेकपाका समूहहरुले आफूले गरेको निर्णय निर्वाचन आयोगमा अभिलेखका लागि पठाएका थिए। दुवै अध्यक्षको हस्ताक्षरमात्र पार्टीको निर्णय हुने भन्दै आयोगले दुवै समूहको निर्णलाई अभिलेख नगरेको उनले जानकारी दिए।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो। यस्तै, उनको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय समेत गरेको थियो। यी लगायत उक्त समूहले गरेका निर्णय निर्वाचन आयोगले खारेज गरेको छ।
यस्तै, प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गरेको केन्द्रीय कमिटी विस्तारलगायतका निर्णयलाई पनि आयोगले खारेज गरेको पत्र पठाइसकेको छ। निर्वाचन आयोगले पत्र पठाउँदा पनि समूहहरुका गतिविधि रोकिएका छैनन्।
प्रतिक्रिया