असार ३ गते संविधान दिवसको दिन जसपा मौन बस्ने, लोसपाले विरोध गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले असोज ३ अर्थात् संविधान दिवसका दिन मौन रहने निधो गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोधका कार्यक्रम गर्ने भएको छ ।
संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलले संविधान दिवसका दिन यस्तो गर्ने निर्णय गरेको हो ।
संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै नवगठित लोसपा नेपालले संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउने भएको हो ।
तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर जनता समाजवादी पार्टी बनेपछि संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउने कि नमनाउने भन्नेबारे विवाद देखिएको थियो ।
गत वर्ष संविधान दिवसको दिन जसपाको एउटा पक्ष मौन रहेको थियो भने अर्को पक्षले सडकमा उत्रिएर संविधान दिवसलाई ‘कालो दिन’ का रुपमा मनाएका थिए ।
जसपा नेपाल विभाजित भएर लोसपा बनेपछि भने यो पटक जसपाले संविधान दिवसमा मौन रहने र लोसपाले विरोधका कार्यक्रम गर्ने तयारी गरेका हुन् ।
संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको अवसर पारेर प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।
मधेसको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेस केन्द्रित दलले यो दिनलाई ‘कालो दिन’का रुपमा मनाउँदै आएका छन् ।
प्रतिक्रिया