भारतले एकै दिन २ करोड ५१ लाख १३ हजार ४ सय १२ जनालाई खोप लगमएर रेकर्ड कायम

काठमाडौं । भारतले कोरोनाविरुद्धको खोप लगाएर विश्वमै नयाँ किर्तिमान कायम गरेको छ ।
शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसर पारेर १७ घण्टामा २ करोड ५१ लाख १३ हजार ४ सय १२ जनालाई कोरोनाविरुद्धको खोप दिएर नयाँ किर्तिमान बनाइएको हो ।
१ लाख ९ हजार ६ सय ६८ खोप केन्द्रहरु मार्फत खोप दिइएको जनाइएको छ । यसअघि ३१ अगस्टमा १ करोड २१ लाखलाई खोप लगाएको रेकर्ड रहेको थियो ।
प्रधानमन्त्री मोदीको जन्मदिनलाई मध्यनजर गर्दै भारतीय जनता पार्टीले धेरै मानिसहरुलाई खोप केन्द्रहरुमा लैजाने अभियान चलाएको थियो ।
केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले जनतालाई प्रधानमन्त्रीको जन्मदिनको अवसरमा सबैले खोप लगाएर विशेष उपहार दिन आग्रह गरेका थिए ।
माण्डभियाले दिल्लीको सफदरगंज अस्पतालमा स्वास्थ्यकर्मीहरुसँग प्रधानमन्त्रीको जन्मदिनमा नयाँ विश्व कीर्तिमान कायम राखेको भन्दै उत्सव मनाएका थिए ।
उनले स्वास्थ्यकर्मीहरुको प्रयासका कारण यो सम्भव भएको भन्दै धन्यवाद समेत दिए । त्यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले खोपको रेकर्ड कायम भएको भन्दै शुभकामना व्यक्त गरेका छन् ।
उनले ट्वीट गर्दै यस रेकर्डले हरेक भारतीयलाई गर्व हुने बताएका छन् ।
उनले डाक्टर, आविष्कारक, प्रशासक, नर्स र अग्रपंक्तिमा काम गर्ने सबैलाई खोप अभियानलाई सफल बनाएको भन्दै प्रशंसा गरेकाछन् । उनले कोरोनालाई परास्त गर्न खोप अभियान जारी राख्नु पर्ने बताएका छन ।
प्रतिक्रिया