काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने तीनवटा प्रस्तावमाथि छलफल सुरु भएको छ ।
आगामी असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशनमा प्रस्तुत हुने तीनवटै प्रस्तावको स्थायी कमिटी सदस्यले अध्ययन गरेर सुझाव दिने क्रम सुरु भएको हो ।
तुलसीलाल अमात्य प्रतिष्ठानमा सुरु भएको बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
आइतबारको बैठकमा अमृतकुमार बोहोरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले आफ्ना विचार राखेका थिए ।
अर्को बैठक सोमबार एक बजे बस्नेछ । असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीमा अनुमोदनका लागि पेश गर्ने तयारी छ ।
केन्द्रीय बैठकमा आएका सुझावलाई समेत समेटेर ती प्रस्ताव विधान महाधिवेशनमा पेश हुनेछन् ।
प्रतिक्रिया