२०८० मंसिर १९ गते | 5th of December 2023

काठमाडौं महानगरले २ सिफ्टमा बजारका खसी, बोका, भेडा च्याङ्ग्रा परीक्षण सुरु गर्ने

काठमाडौं महानगरले २ सिफ्टमा बजारका खसी, बोका, भेडा च्याङ्ग्रा परीक्षण सुरु गर्ने
Sanchar_np प्रकाशित: २०७८ असोज २१ गते ११:३७

काठमाडौँ । आजबाट काठमाडौँ महानगरका चौपाया बजारका खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो ।

परीक्षणको पहिलो दिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगरको वडा १४ की अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङ्मा हरियो रङ् लगाएर परीक्षण थालनी गरेका छन् ।

कलंकी काठमाडौँको ठूलो चौपाया बजार हो । यसलाई व्यवस्थित गरेपछि अन्य ठाउँमा यहाँबाट जाने चौपाया निरोगी पुग्छन् ।

महानगरको पशु सेवा महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाकाअनुसार, पहिले खसी, बोका, भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरिन्छ । यदि मासु खान योग्य देखियो भने सिंहमा हरियो रंग लगाइन्छ ।

बिरामी भएर खान अयोग्य भेटियो भने सिंङ्मा रातो रङ्ग लगाइन्छ । आवश्यकताका आधारमा यसरी विरामी भेटिएका चौपायाको नमूना संकलन गरेर परीक्षण पनि हुनेछ ।

महानगरभित्रका दशैँ लक्षित चौपाया बजारहरु कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र हुन् ।

महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा विहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन हुनेछन् ।

बजारमा टोलीले चौपायाको स्वास्थ्य परीक्षणसँगै व्यापारी र उपभोक्तलाई स्वच्छ र स्वस्थ्य मासुजन्य खाद्यबस्तुको उत्पादनर कोविड १९ को सम्भावित संक्रमणबाट जोगिन सचेतना बढाउने काम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *