२०८० असोज ७ गते | 24th of September 2023

मोतिपुरको कर्फ्‍यू आज राति १२ बजेदेखि हट्ने, निशेधाज्ञा भने यथावत

मोतिपुरको कर्फ्‍यू आज राति १२ बजेदेखि हट्ने, निशेधाज्ञा भने यथावत
Sanchar_np प्रकाशित: २०७८ असोज २६ गते १०:३५

बुटवल । बुटवलको मोतिपुरमा रुपन्देही प्रशासनले लगाएको कर्फ्‍यू आज राति १२ बजे देखि हटाइने भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मंगलबार एक सूचना जारी गर्दै असोज २४ गते दिउसो ४ बजे देखि लगाईएको कर्फ्‍यू रातिको १२ पछि हटाइने जानकारी दिएको हो ।

कर्फ्‍यू लगाइएको तेस्रो दिनमा त्यहांको स्थिति सामान्य अवस्थामा फर्कन थालेपछि कर्फ्‍यू हटाउन लागिएको हो ।

कर्फ्‍यू हटाए पनि भदौ २८ गते देखि नै जारी गरिएको निशेधाज्ञा भने यथावत रहेको सूचनामा उल्लेख छ ।

बुटवल उप–महानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा टहरा बनाउने समूह र प्रहरीबीच शनिबार झडप हुंदा प्रहरीको गोली लागेर चार जना सर्वसाधारणको मृत्यु र प्रहरीसहित ७० जना भन्दा बढी घाइते भएपछि कर्फ्‍यू लगाइएको थियो ।

यसैबीच झडपमा ज्यान गुमाउनेको परिवारलाई राहत रकम र किरिया खर्च उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले नेपाल सरकारलाई सिफारीस गरेको छ ।

जिल्ला प्रशासनको सूचना अनुसार पूर्वतर्फ तिनाउ नदी (बुटवल– १७ देखि वडा नम्बर १८ सौरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन ( बुटवल–१७), उत्तर शिवनगर रानीगञ्ज बस्ती (बुटवल उप महानगरपालिका वडा नम्बर १७) र दक्षिण बुटवल उप महानगरपालिका वडा नम्बर १८ औद्योगिक कोरिडोरको जमिन (धन्दापुर सौरहियासम्म) को क्षेत्रलाई चार किल्ला मानी निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले विज्ञप्ती जारी गर्दै नेपाल सरकारको तर्फबाट मृतकको हकमा किरिया खर्च बापत ५० हजार र राहत स्वरुप प्रति परिवार ५ लाख रुपैया र प्रदेश सरकारका तर्फबाट प्रति परिवार १ लाख रुपैया प्रदान गर्न सिफारिस भएको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *