२०८० मंसिर १८ गते | 4th of December 2023

मोतिपुरमा झण्डै एक हजार ‘पेट्रोल बम’ र घरेलु हतियारहरु भेटियो

मोतिपुरमा झण्डै एक हजार ‘पेट्रोल बम’ र घरेलु हतियारहरु भेटियो
Sanchar_np प्रकाशित: २०७८ असोज २७ गते १२:२७

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा झण्डै एक हजार बोतल ‘पेट्रोल बम’ र घरेलु हतियारहरु फेला परेको छ ।

घटनास्थलमा चलाएको सर्च अभियानका क्रममा झण्डै एक हजार थान बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला पारेको सशष्त्र प्रहरीले जनाएको छ ।

प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासीको नाममा टहरा बनाउने समूह र प्रहरीबीच आइतबार चारजनाको ज्यान जाने गरी झडप भएको थियो ।
सर्च अभियान जारी रहेकाले पेट्रोल बम र घरेलु हतियारको यकिन परिणाम बढ्न सक्ने सशस्त्र प्रहरी नं. २७ गणका सूचना अधिकृत सशस्त्र प्रहरी नायब उपरीक्षक निराकार शुक्लाले बताए ।

घटना भएका स्थानहरु रानीगन्ज, मगरघाट पुल मुनिको बगर र हरिहरगन्जमा खोजतलास गर्दा तयारी अवस्थामा राखिएका पेट्रोल बम र हसिया,भाटा लगायत घरेलु हतियारहरु फेला परेको सशस्त्र प्रहरी नायब शुक्लाले बताए ।

झडपमा अतिक्रमणकारीहरुले प्रहरी माथि पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बम लागेर प्रहरी उपरीक्षक राजेश उप्रेतीसहित प्रहरीहरु घाइते भएका थिए ।

प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाउंदा ४ जना सर्वसाधारणको ज्यान गएको थियो ।

झडपमा नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएकामा १० जना गम्भीर घाइते भएका थिए ।

झडपमा परी १८ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *