देशका विभिन्न जिल्लामा जस्तै सप्तरीमा पनि दशैंको रौनक उत्कर्षमा पुग्यो

मनोज माझ, सप्तरी । देशका विभिन्न जिल्लामा जस्तै सप्तरीमा दशैंको रौनक उत्कर्षमा पुगेको छ ।
घटस्थापनादेखी विभिन्न शक्तिपीठ तथा दशैंका लागि बनाइएका देवीदेवताका अस्थायी प्रतिमाहरुमा अहिले धुमधामका साथ पूर्जाअर्चना भइरहेका छन् ।
नवदुर्गाका सबै रुपलाई घटस्थापनादेखी नवमीसम्म हरेक दिन बिहान बेलुका पूजापाठ गर्ने परम्भपरा छ ।
सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता, कंकालिनी, राजदेवी, भगवतीका साथै करिब ५ दर्जन ठाउँमा दुर्गादेवीको प्रतिमा स्थापना गरि पूजापाठ भइरहेको छ ।
दशैंको रमझम बढाउन मन्दिर र पूजास्थल सजावटमा ठूलो रकम खर्चिएको छ । आकर्षक पण्डाल निर्माण र बिद्युतीय बत्ति जडान गरि पूजास्थललाई झिलिमिलि बनाउनुका साथै भिड व्यवस्थापन गर्न पूजा समितिले आवश्यक व्यवस्था मिलाएको छ ।
त्यस्तै चाड पर्वलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालय सप्तरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जिल्ला भरका पूजा स्थलमा बिहान र बेलुकी ज्यादै भिडभाड हुने भएकाले सात बुँदे विशेष सुरक्षा योजना ल्याई सुरक्षा ब्यवस्था कडा पारिएको बताउनु भयो ।
विशेष सुरक्षा योजना अन्तरगत एक कमाण्ड सेन्टर स्थापना गरि सादा पोषाकका समेत गरि ६ सय २२ जना सुरक्षाकर्मी परिचालन भएको उहाँले जानकारी दिनुभयो ।
भिडभाडले कोरोना संक्रमणको जोखिमसमेत बढाउने भएकाले यसका लागि सचेतना कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।
चाडवाडका बेला कालो बजारी हुन नदिन जिल्ला प्रशासन कार्यालयको सहकार्यमा अनुगमनमा समेत कडाई गरिएको छ ।
यता जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाको जोखिम कायमै रहेकाले सबैसँग स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि चाडपर्वमा सहभागी हुन अपीलसमेत गरेको छ ।
प्रतिक्रिया