२०८० मंसिर १५ गते | 1st of December 2023

कोमल वलीलाई एमालेको केन्द्रीय सदस्य बन्ने ढोका बन्द

कोमल वलीलाई एमालेको केन्द्रीय सदस्य बन्ने ढोका बन्द
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २ गते १२:१२

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेकी नेतृ कोमल वलीलाई आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार नै बन्न नपाउनेगरी ढोका बन्द गरेको छ ।

एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा एमाले केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको हो ।

एमालेको विधानअनुसार एमाले महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष हुनुपर्नेछ भने महिलाको हकमा ७ वर्ष कायम छ ।

यी दुवै योग्यता वलीको हकमा नपुग्ने देखिएपछि केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको हो । वली २०७४ सालमा राप्रपा छोडेर एमाले प्रवेश गरेकी थिइन् ।

वली राप्रपाको एकता महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।

तर, पार्टी एकताका क्रममा एमाले प्रवेश गरेका अन्य नेताहरुलाई भने पूर्ववत् पार्टीको इतिहासलाई कायम गरिने भएकाले उनीहरु एमाले केन्द्रीय सदस्य बन्नबाट रोकिने छैनन् ।

एमाले नेता अग्नि खरेल पार्टी विधानमा यस्तो व्यवस्था राख्नु स्वभाविक भएको बताउँछन् ।

यस्तो छ, एमालेको विधान

गत भदौ १५ देखि १७ सम्म सम्पन्न विधान महाधिवेशनले विधान संशोधन गर्दै भर्खर सार्वजनिक गरेको नयाँ विधानमा एमाले महाधिवेशनमा प्रतिनिधि बन्न कम्तीमा १० वर्ष पार्टी सदस्य भएको योग्यता भएको हुनुपर्ने व्यवस्था गरेको हो । संशोधित विधानको धारा ६३ यस्तो व्यवस्था गरेको छ । तर धारा ६३ को उपधारा १ मै महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष पार्टी सदस्य भए पुग्ने व्यवस्था राखिएको छ ।

त्यसैगरी एमालेको केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटीको सदस्य भएर एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था पनि गरेको छ । एमालेले केन्द्रीय कमिटी सदस्य उम्मेदवार हुने मापदण्ड पनि एमालेले विधानमै तोकेको छ । यसका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएपछि मात्रै उम्मेदवार बन्न पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *