काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच जना न्यायाधीशहरुलाई राजीनामा दिन आग्रह गरेका छन् ।
मंगलबार एमालेको पालिका अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराको राजीनामा माग्दै परमादेशको फैसला गर्ने संवैधानिक इजलासमा रहेका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताए ।
उनले भने, ‘परमादेश त एक जनाले होइन, पाँचै जनाले गर्नुभएको थियो होला । पाँचै जनाले परमादेश गर्नुभएको थियो भने एक जनासँग किन राजीनामा माग्नुहुन्छ श्रीमान ज्यूहरु ? पाँचै जनाले परमादेश गरेर देशलाई यो हालतमा पुर्याउनु भएको छ त, पाँचै जनाले रानीनामा गरे उपयुक्त होइन र ?’
न्यायाधीशहरुले अहिले सर्वोच्च अदालतको मानमर्दन गरिरहेको आरोप लगाउदै ओलीले जनतालाई मर्का परेको विषय पेन्डिङमै रहेको बताउँदै नक्कली मुद्दा खडा गरेर अदालतलाई राजनीतिको केन्द्र बनाउने काम भइरहेको बताए ।
उनले भने ‘के न्यायालयप्रति न्याय पाइन्छ भन्ने विश्वास छ ? जनतालाई मर्का परेको विषय पेन्डिङमै छ । नक्कली मुद्दा खडा गरेर अदालतलाई राजनीतिको थलो बनाउने काम भइरहेको छ ।’
प्रतिक्रिया