२०८० असोज ५ गते | 22nd of September 2023

अफगानिस्तानमा चरम आर्थिक संकट चुलियो

अफगानिस्तानमा चरम आर्थिक संकट चुलियो
Sanchar_np प्रकाशित: २०७८ कार्तिक ९ गते ९:४८

काठमाडौं । अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि वैदेशिक सहयोग रोकिँदा अफगानिस्तान चरम आर्थिक संकट चुलिएको छ ।

अफगानिस्तानले यतिबेला विश्वमै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको छ ।

कमजोर अर्थतन्त्रलाई ढाडस दिँदै आएको अन्तर्राष्ट्रिय सहायता रकम रोक्का भएपछि अफगानीहरु ठूलो संकटमा फस्न पुगेको हो ।

सत्तामा आएको तालिबानको सामना कसरी गर्ने भनेर विश्व समुदायले छलफल गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तत्काल सहायता रकम पठाइएन भने भोकमरीका कारण लाखौं मानिसले ज्यान गुमाउन सक्ने चेतावनी दिइसकेको छ ।

बीबीसीको तयार पारेको एक भिडियो रिपोर्ट अनुसार विदेशी सहायता रोक्का भएपछि कम्तिमा १० लाख बालबालिका मृत्युको जोखिममा परेका छन् ।

पश्चिमी अफगानिस्तानको हेरात र वरपरका ग्रामीण क्षेत्रको अवस्था चित्रण गरिएको छ । एमएसएफको अस्पतालमा उपचार गराइरहेका बालबालिकाको अवस्था निकै दर्दनाक छ । अस्पतालका डाक्टर र नर्सले चार महिनादेखि तलब पाएका छैनन् । न स्वास्थ्य सामग्री किन्ने पैसा छ ।

हेरात वरपरका क्षेत्रमा अवस्था कल्पनै गर्न नसकिने खालको छ । त्यहाँका बासिन्दाहरु छाक टार्नका लागि कल्पनै गर्न नसकिने कार्य गर्न बाध्य छन् । भिडियोमा भोकमरीबाट परिवारलाई बचाउनका लागि एक शिशु बेचिएको उल्लेख छ ।

बीबीसीकी योगिता लिमायले तयार पारेको उक्त रिपोर्टमा हेरातस्थित एमएसएफद्वारा सञ्चालित एक अस्पतालको दयनीय अवस्था देखाइएको छ ।

छाक टार्नकै लागि आफ्नी छोरी बेच्न बाध्य भएकी आमा भन्छिन्( ‘मेरा अन्य छोराछोरी भोकै मर्ने अवस्था आएपछि छोरी बेच्न बाध्य भयौं ।’

ती महिलाकी सानी छोरीलाई एक व्यक्तिले पाँच सय डलरमा किनेका छन् । ती व्यक्तिले उनकी छोरी हिँड्न सक्ने भएपछि घर लैजानेछन् । किन्ने व्यक्तिले उनलाई आफ्ना सन्तानसँग बिहे गरिदिने पनि भनेका छन् । तर यसबारे ढुक्क हुने अवस्था छैन ।

छोरी बेच्न बाध्य महिलाका पतिले फोहोर उठाउने काम गर्थे । तर हाल आम्दानीको यो स्रोत समेत बन्द भएको छ । ‘हामी भोकभोकै छौं’, छोरी बेच्न बाध्य बाबु भन्छन्, ‘हाम्रो घरमा न पीठो छ, न खाने तेल । हामीसँग केही पनि छैन । मेरी छोरीलाई आफ्नो भविष्यबारे केही थाहा छैन, यो कुरा थाहा पाएपछि उनले के सोच्लिन् होला ? तर मैले यो काम गर्न बाध्य छु ।’

उक्त क्षेत्रमा आफ्ना सन्तान बेचेका अन्‍य बाबु–आमा समेत बस्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *