ओलीले प्रचण्ड र चितवनलाई ताकेर नै महाधिवेशन गर्न लागे होः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा ठूलो राजनीतिक टक्कर र लडाइँले यो कुरुक्षेत्र बन्दै गएको बताएका छन् ।
माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राजनीतिक लडाइँ र टक्कर हुन लागेको बताएका हुन् ।
बुटवलमा हुने भनिएको महाधिवेशनलाई एमालेले चितवनमा गर्ने भएपछि प्रचण्डले त्यसलाई राजनीतिक टक्कर र लडाइँको रुप भएको बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र चितवनलाई ताकेर नै महाधिवेशन गर्न लागेको बताए । एमालेले महाधिवेशन गर्दा आफ्नो जितको शुरुवात भएको र त्यसले फाइदा पुग्ने उनको भनाइ छ ।
‘देशभरिको ध्यान चितवनमै केन्द्रित छ । चितवनमा चुनाव मात्रै हुनेवाला छैन । यहाँ ठूलो लडाइँ हुनेवाला छ । ठूलो टक्कर हुँदैछ ।’उनले भने ।
दुई कित्तामा धुव्रीकृत भएको राजनीतिको केन्द्र चितवन हुने खतरा वा गौरव प्राप्त भएको बताए ।
चितवनको माडीमा पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले अयोध्याधाम बनाउने प्रक्रिया र राम–लक्ष्मण, सीता तथा हनुमानको मूर्ति ल्याएर आफूलाई पछाडि पार्न खोजेको आशंका उनले गरे । ‘राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति ल्याएर नभएपछि एमालेले महाधिवेशन नै यही गर्न लागेको छ,’ उनले भने ।
कतिपयले प्रचण्ड अब डराएर चुनाव लड्न अरु नै जिल्ला र निर्वाचन क्षेत्रमा जाने भनेर गरेको प्रचारमा सत्यता नभएको भन्दै आफू चितवन छाडेर कतै नजाने बताए ।
प्रतिक्रिया