बलिउड चलचित्र ‘उचाई’को छायाङ्कन सकियो

काठमाडौं । नेपालमा छायाङ्कन भइरहेको बलिउड चलचित्र ‘उचाई’को काम सकिएको छ ।
दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन गरिएको यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो ।
नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो ।
खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएको र दोस्रोका लागि भारतका विभिन्न स्थानमा छायाङ्कन हुने राजश्री प्रोडक्सनले जनाएको छ ।
चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएको छ ।
चलचित्र निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौँ फर्किसकेका छन् ।
सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकार सहभागी थिए ।
चलचित्रमा अमिताभ बच्चन भएपनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर छायाङ्कन गरिएको थियो ।
प्रतिक्रिया