भक्तपुरमा पाला बनाउने कुमालेहरुलाई भ्याईनभ्याई

भक्तपुर । दशैंपछिको दोस्रो ठूलो चाड तिहार अर्थात दिपावलीलाई उज्यालो पर्व पनि भनिन्छ ।
तिहारमा बत्ति बाल्न अर्थात दिपावली गर्न विभिन्न प्रकारका बत्तिहरुको प्रयोग हुन्छ । त्यस्तै माटाका पालाको पनि प्रयोग अत्याधिक मात्रामा हुँदै आएको छ ।
यतिबेला माटोका पाला बनाउन भक्तपुरका कुमालेहरुलाई भ्याइनभ्याई भएको छ ।
दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन ।
उनीहरु मागअनुसार पाला बनाउन भने नसकेको बताउँछन् । अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एउटै कुमालेले एक लाख भन्दा बढी बिक्री गर्ने गरेको व्यवसायीहरु बताउँछन् ।
गत वर्ष कोरोनाका कारण बिक्री नभए पनि यसवर्ष मागअनुसारको परिपूर्ति गर्न नसकेको व्यवसायीहरुको भनाइ छ ।
व्यवसायीहरुका अनुसार माटो अभावका कारण पाला बनाउन समस्या भएको छ ।
जताततै प्लानीङ र सहरी विकासका कारण पाला लगाएतका माटाका भाँडा बनाउने पेशा संकटमा परेको उनीहरुको गुनासो छ ।
पाला मात्र नभएर माटोका भाँडा बनाउँदा विशेषगरी माटोको समस्या तथा माटोका भाडाहरु पोल्ने स्थानको अभाव समेत हुने गरेको उनीहरुले बताए ।
उपत्यका तथा बाहिरका बासिन्दाहरुका लागि भक्तपुरमा बनाइएको पाला निकै परिचित छ ।
यसको मौलिक परिचयका कारण उपत्यकाबाहिर काभ्रे, सिन्धुपाल्चोक, पोखरा, धरान लगाएतका विभिन्न अन्य जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्न आउने गर्छन ।
भक्तपुरमा दिपावलीमा पाला मात्र नभएर लाख बत्ती बालिने पालाहरु, विभिन्न माटाका भाँडाहरु, दही जमाउने कतारो लगायतका विभिन्न भाँडाहरु भक्तपुरमा बन्दै आएका छन् ।
हाल नयाँ व्यवसायका रुपमा विभिन्न हटिया लगाएतका चिया पसल एवं दहीका लागि ग्राहकले दिएको साइज र डिजाइनमा पनि प्रजापतिहरुले माटोका भाँडा बनाउँदै आएका छन् ।
प्रतिक्रिया