आईसीसी टी–ट्वान्टी विश्वकपमा भारतको पहिलो जित, अफगानिस्तान ६६ रनले पराजित

काठमाडौं । उपाधि दाबेदारको रुपमा रहेको भारतले आइसिसी टी–ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ ।
गएराति भएको सुपर–१२ को समूह–२ मा रहेको भारतले अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो आशा कायमै राखेको हो ।
जितको लागि २११ रनको विशाल लक्ष्य पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनायो । अफगानिस्तानका करिम जन्नत ४२ रनमा अविजित रहे ।
मोहम्मद नाबीले ३५ रन जोडे । भारतका बलर मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । यस्तै रविचन्द्रन आश्विनले २ विकेट हात पारे ।
यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१० रनको बिशाल योगफल तयार पारेको थियो ।
भारतका ओपनर रोहित शर्माले सर्वाधिक ७४ रनको योगदान दिए । लोकेश राहुलले ६९ रन बनाए ।
भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि १ सय ४० रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।
भारत पहिलो खेलमा पाकिस्तानसँग दोस्रो खेलमा न्युजिल्यान्ड पराजित भएको थियो । शुक्रबार भारतले स्कटल्यान्डसँग खेल्नेछ ।
प्रतिक्रिया