२०८० असोज ७ गते | 24th of September 2023

६ वर्ष वित्तिसक्दा पनि आएन खानेपानी

६ वर्ष वित्तिसक्दा पनि आएन खानेपानी
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १९ गते १०:३३

नारायण खड्क, तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. १३ मिर्लुङ र सतिस्वाँरा लगायतका गाउँबस्तिमा खानेपानीको सहज आपूर्ति गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको खानेपानी आयोजना अलपत्र भएको छ ।

३ वर्ष भित्र आयोजना निर्माण सम्पन्न गर्नुपर्नेमा ६ वर्ष वित्तिसक्दा पनि घरघरका धारामा पानी खस्नुको सट्टा बनाइएका संरचनाहरु समेत भत्कन थालेका छन् ।

तनहुँको साविक मिर्लुङ्ग र सतिस्वाँरा गाविसको उच्च भागका बसिन्दाले हिउँद लागेसंगै झेल्नुपर्ने पानीको समस्या समाधानका लागि भन्दै आर्थिक वर्ष २०७२÷०७३ सालमा विद्युतीय लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइएको थियो ।

हाल कायम गरिएको भानु नगरपालिका–१३ र व्यास नगरपालिका–९ का बासिन्दालाई खानेपानीको सहज पहुँच पु¥याउने लक्ष्य भएपनि अहिले यो आयोजना अलपत्र अवस्थामा पुगेको छ ।

तीन वर्षभित्र घरघरमा खानेपानीको धारा आउँछ भनिएपनि ६ वर्ष बित्तिसक्दा पनि पानी आउने कुनै छाटकाट नदेखिएको स्थानीयको भनाइ छ ।

मिर्लुङको बासपानी, टुटेपानी, ठूलोढुङ्गा, पयाँस्वारा, पोखरीछाप, मियाँगाउँ, समजुर, तारुका लगायतका गाउँमा हिउँदा लागेसंगै खानेपानीको अभाव खड्किन्छ ।

एक गाग्री पानीको जोहो गर्न स्थानीयले घण्टौ समय खर्चनुपर्ने बाध्यता छ ।

आयोजना सुरु गर्नु पूर्व स्थानीय उपभोक्तालाई आयोजनाका बारेमा बुझाउन नसक्नु, समयमै आवश्यक बजेट प्राप्त नहुनु, उपभोक्ताको लागत सहभागिता जुट्न नसक्नु, मुहानदेखि पानी संकलनको मुख्य ट्याङ्कीसम्म विस्तार गरिएको पाइपलाइन र ट्याङ्कीमा बाढीपहिरोले पु¥याएको क्षतिका कारण आयोजना प्रभावित भएको छ ।

मुहानदेखि मुख्य ट्याङ्कीसम्मको करिब चार किलोमिटर दुरीमा चार स्टेपको लिफ्ट प्रविधिबाट पानी वितरणका लागि पाँच वटा ट्याङ्की निर्माण गरिएको छ ।

करिब १५० घर धुरीमा धारा समेत जडान गरिएको हुँदा बाढीपहिरोले पाइप र ट्याङ्कीमा पु¥याएको क्षतिको मर्मत सुधार भएमा तिहार लगत्तै पानी वितरण गर्न सकिने उपभोक्ता समितिले जनाएको छ ।

कृपा कन्स्ट्रक्सन भरतपुर चितवनले आयोजनाको पहिलो चरणको काम अन्तरगत पाँचवटा पानीसंकलन ट्याङ्की निर्माण, पानीको मुलदेखि मुख्य ट्याङ्कीसम्म जिआई पाइप जडान गरेको छ ।

विद्युत लाइन विस्तार, ट्रान्सफरमर जडान लगायतका कार्य पनि भएको छ ।

दोश्रो चरणको कामको जिम्मा लिएको गण्डकी निर्माण सेवा नेपालगञ्ज बाँकेले उपभोक्ताहरुको घरघरसम्म धारा जडान र कार्यालयको भवन निर्माण कार्य गरिरहेको छ ।

यी निर्माण व्यवसायीले तोकिएको समयमै काम सम्पन्न नगर्दा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँले तेश्रो पटक समय थप गर्ने तयारी गरेको छ ।

केन्द्रीय सरकारले सुरु गरेको यो आयोजना अहिले प्रदेश सरकार मातहत आएको छ ।

समयमै आवश्यक बजेट पाउन नसकेको र आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश सरकारको विशेष कार्यक्रम अन्तरगत राखेर बजेट माग गरिएको छ ।

जटिल प्रकृतिको आयोजना भएको र प्रयाप्त बजेट समेत नआएको हुँदा समय लागि रहेको र तेश्रो स्टेजसम्म पानी सञ्चालन गरी तिहार लगत्तै केही उपभोक्तालाई पानी खुवाउने तयारीमा रहेको कार्यालयले जनाएको छ ।

खानेपानी आयोजनामा आर्थिक वर्ष २०७७÷०७८ सम्म २ करोड १३ लाख ७० हजार रुपैयाँ खर्च भइसकेको छ ।

आयोजना पूर्णरुपमा सम्पन्न हुन करिब २ करोड ५० लाख रुपैयाँ बजेट आवश्यक पर्ने भएपनि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६० लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ ।

२ करोड ५७ लाख ९१ हजार उपभोक्ताको लागत सहभागिता सहित १२ करोड ८९ लाख ९८ हजार रुपैयाँ आयोजनाको लागत स्टमेट निकालिएको छ ।

मिर्लुङकोट, शहीदगाउँ पुलिमराङ्ग लगायतका ऐतिहासिक, धार्मिक, साँस्कृतिक, प्राकृतिक क्षेत्रले भरिपूर्ण र ग्रामीण पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको यस क्षेत्रमा खानेपानीको सहज पहुँच नहुँदा धेरै जसो गाउँ बसाई सराइका कारण उजाडिदै गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *