काठमाडौं । कार्तिक शुक्ल चतुदर्शीका दिनबाट शुरु भएको छठ पर्वको आज दोस्रो दिन खर्ना मनाइँदैछ ।
सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ ।
आज खर्नामा व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्ने गरिन्छ ।
भोली षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन् ।
व्रतालु भक्तजनहरू रातिी धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् ।
शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ ।
आज नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सख्खरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गरिन्छ ।
आज एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास हो ।
भोली रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् ।
बिहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् ।
त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत समाप्त हुन्छ ।
प्रतिक्रिया