लमजुङका ग्रामिण पर्यटकिय गाउँहरुको लागी सिकाई हव बन्यो

शान्ता कमली, लमजुङ । व्यवसायिक होमस्टे शुरु भएको ८ वर्षमै लमजुङको काउलेपानी अन्य ग्रामिण पर्यटकिय गाउँहरुको लागी सिकाई हव बनेको छ ।
घुम्न वा होमस्टेको अनुभव लिन आउने पाहुनासँगै पछिल्ला वर्षहरुमा होमस्टे व्यवस्थापनबारे सिक्नको लागि पनि धेरैठाउँबाट पर्यटन व्यवसायीहरु काउलेपानी आउन थालेका छन् ।
लमजुङको काउलेपानीमा व्यवसायिक होमस्टे शुरु भएको सातवर्ष मात्र भयो ।
८ वर्षभित्रै निकै व्यवस्थीत बनेको काउलेपानी होमस्टेमा महिला समूहले पाहुनाहरुको स्वागत सत्कार, विदाई गर्छन भने युवाहरु गाउँमा आएका पाहुनाहरुको अन्य व्यवस्थापन गर्छन ।
गाउँमा आएका पाहुनाहरुलाई मनोरञ्जन दिन यहाँको युवाक्लव सक्रिय छ ।
काउलेपानीको व्यवसायिक होमस्टेले विदेसिन लागेका युवाहरुलाई गाउँमै मनग्य आम्दानी गर्न सक्नेगरी स्थापित गरेको छ ।
होमस्टे सञ्चालन हुनुअघि काउलेपानीका महिलाहरु घरायसी काममा सिमित थिए । महिलाहरुलाई आम्दानीका लागि रोजगारी वा निवेकमै भर पर्नुपथ्र्यो ।
स्थानिय अर्गानिक उत्पादन थियो तर बजार थिएन । तर अहिले गाउँको उत्पादनका लागि बजार खोज्नु पर्दैन ।
पाहुनाहरुलाई स्वागत सत्कार, अर्गानिक उत्पादनसँगै काउलेपानीका महिलाहरु होमस्टे व्यवस्थापनबारे अरुलाई सिकाउन समेत भ्याउने गरेका छन् ।
आठ वर्षको अवधीमा काउलेपानी होमस्टे सञ्चालकहरुलाई भ्याइ नभ्याई भएको छ ।
सन् २०१४ मा भिटोफले काउलेपानीलाई नेपालभरिकै उत्कृष्ट होमस्टे घोषणा गरेपछि यहाँ आउने पाहुनाहरुको सँख्या अत्याधिक बढेको हो ।
अहिले होमस्टेको अनुभव लिनमात्रै नभई नयाँ प्रर्वद्धन हुन लागेका पर्यटकिय गाउँहरुबाट समेत होमस्टे व्यवस्थापनको लागि तालिम लिन पर्यटन व्यवसायीहरु आउने गरेका छन् ।
काउलेपानी होमस्टे सञ्चालकहरु गाउँमा आएकाहरुलाई मात्र नभई कतिपय गाउँहरुमा आँफै समूहमा गएर समेत सिकाउने गरेका छन् ।
अतिथि सत्कार, पाहुनाको व्यवस्थापन, अर्गानिक उत्पादन र पाहुनाहरुलाई कसरी खुशी बनाउन सकिन्छ भन्नेबारे उनिहरुको अनुभवबाट जिल्ला भित्र र बाहिरपनि धेरै नयाँ पर्यटकिय गाउँहरुले सिको गर्दै आएका छन् ।
प्रतिक्रिया