समयमै सबै पाठ्यपुस्तकहरु विद्यार्थीको हातमा पुर्याउछौंः शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरु सार्वजनिक गरेको छ ।
त्यस क्रममा शिक्षा मन्त्री देवेन्द्र पौडेलले देशव्यापी रुपमा लागु गरिने कार्यक्रमहरुको फेहरिस्त प्रस्तुत गरे । कार्यक्रमको कार्यान्वयन पक्ष कस्तो होला ? त्यो त प्रतिक्षाको विषय हो, तर मन्त्रीको भाषण सुन्दा चिल्लो र मिठो थियो ।
मंगलवार मन्त्रालयमा आयोजित विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरु सार्वजनिक गर्दै शिक्षा मन्त्री देवेन्द्र पौडेलले सबै विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्धको खोपको व्यवस्था गर्ने बताएका हुन ।
उनले चाँडै नै सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गर्ने मन्त्रालयको प्राथमिकता रहेको बताए ।
मन्त्री पौडेलले सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, अनिवार्य तथा निःशुल्क ऐन र नियमलाई प्रभावकारी बनाउने, काक्षा १२ सम्मका पाठ्य पुस्तकको छपाइ गुणस्तरीय एवं रंगीन बनाउने, अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालनमा ल्याइने मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।
उनले स्थायी शिक्षकको पदपूर्तिका लागि विज्ञापन प्रक्रिया तत्काल अघि बढाउने, समयमै सबै पाठ्यपुस्तकहरु विद्यार्थीको हातमा पु¥याउने र शिक्षक दरबन्दी मिलान कार्यलाई स्थानीय तहबाटै शीघ्र अघि बढाउने पनि बताए ।
उनले हरेक स्थानीय तहमा क्रमशः कम्तिमा एउटा प्राविधिक शिक्षालय पु¥याउने योजना मन्त्रालयको रहेको बताए ।
मन्त्री पौडेलले शिक्षक अस्पताल निर्माणको प्रक्रिया अघि बढाउने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने, तीन वर्षभित्र सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारहरु तयार गर्ने गरी श्रोत साधन परिचालन गरिने पनि जानकारी दिए ।
उनले शैक्षिक पूर्वाधार निर्माण एवं प्रविधि विकासमा स्वदेशी एवं वैदेशिक लगानी आकर्षित गरिने मन्त्रालयको प्राथमिकता रहेको बताए । उनले प्रत्येक पालिका, प्रदेश र राष्ट्रिय स्तरमा प्रविधिमैत्री नमुना विद्यालय स्थापना गरिने पनि बताए ।
मन्त्री पौडेलले विभिन्न आन्दोलनका घाइते, अपांग एवं द्वन्द्वपीडितलाई शैक्षिक अवसर प्रदान गरिने, विद्यालय स्तरको एसइइ र कक्षा १२ को परीक्षालाई व्यवस्थित बनाउने, शैक्षिक गुणस्तरमा सुधार ल्याउन हरेक क्षेत्रको सुक्ष्म अनुगमन गर्ने बताए ।
मन्त्रालयले वैकल्पिक सिकाइ र अनलाइन शिक्षा प्रणालीलाई प्रभावकारी बनाउने, निजी विद्यालयले सरकारले तोकेअनुसार छात्रवृत्ति उपलब्ध गराए, नगराएको बारे अनुगमन गर्ने, विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गराइ सञ्चालन गरे, नगरेको अनुगमन गर्ने र विद्यार्थी भर्ना संख्याका आधारमा नभइ सिकाइका आधारमा विद्यालयको उपलब्धि मापन गर्ने कुरालाई आफ्नो प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया