२०८० असोज १३ गते | 30th of September 2023

यु–१९ क्रिकेटमा बागमती र सुदूरपश्चिम प्रदेश

यु–१९ क्रिकेटमा बागमती र सुदूरपश्चिम प्रदेश
Sanchar_np प्रकाशित: २०७८ मंसिर १७ गते १२:५४

काठमाडौं । बागमती प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी वाई–वाई अण्डर नाइन्टिन पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई हराउँदै लुम्बिनीसँग उपाधि प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेको हो ।

६ खेल मध्ये ४ खेलमा जित निकालेको सुदूरपमश्चिमले राम्रो रन रेट बनाउँदै शीर्ष दुईमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो । लुम्बिनीसँग उपाधि भिडन्तका लागि स्थान बनाउने क्रममा ९६ रनको लक्ष्य सुदुरपश्चिमले ३२ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो ।

सुदुरपश्चिमका लागि नरेन भट्टले अविजित ३७ र राहुल भण्डारीले अविजित रनको योगदान गरे । कप्तान खडक बोहोराले ५ रनको पारी खेल्दा बसन्त कार्की ११ रनमा पेभेलियन फर्किए । सुदूरपश्चिमको दुई विकेट निकाल्ने क्रममा बागमतीका गौतम केसी र प्रतिश जिसीले समान एक–एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ३० दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन जोडेको थियो । बागमतीका लागि विवेक मगरले सर्वाधिक ३२ रन जोड्दा क्रिस कार्कीले १७ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बागमती प्रदेशविरुद्ध कसिलो बलिङ गर्ने क्रममा सुदुरपश्चिमका हेमन्त धामीले सबै भन्दा धेरै ५ विकेट हात पारे । धामीले १० ओभर बलिङ गर्दा ४ मेडन ओभर गर्दै १९ रन खर्चिएका थिए ।

त्यस्तै शेर मल्लले पनि बागमतीविरुद्ध उत्कृष्ट बलिङ गर्दै चार विकेट निकाले । ५ दशमलव १ ओभर बलिङ गरेका मल्लले ३१ रन खर्चिन पुगेका थिए ।

यससँगै काठमाडौंमा जारी वाई–वाई अण्डर नाइन्टिन क्रिकेट प्रतियोयिगतामा राउन्ड रोविन लिगका खेल सकिएका छन् । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *