झापामा नौ जना डेङ्गुका बिरामी फेला

झापा । झापामा दुईवटा पालिकामा नौ जना डेङ्गुका बिरामी फेला परेका छन् ।
विर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चार जना फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा देखिएको छ ।
हाल उनीहरु बिर्तामोडमा रहेको विर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन् । मनमोहन अस्पतालका डा.शुवेश शौरवले दश दिनको अन्तरालमा अस्पतालमा १० डेङ्गु रोगीको उपचार भएको जानकारी दिएका छन् ।
उनले विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने मजदुरमा डेङ्गुको सङ्क्रमण देखिएको बताए ।
मेचीनगर नगरपालिकाको वडा नम्बर १०, ६ र ८ मा मात्र चार जना डेङ्गुका बिरामी फेला परेको छ ।
पालिकाको स्वास्थ्य शाखाकी डेङ्गु फोकल पर्सन सविता सापकोटाले छिटफुटमा डेङ्गुका सङ्क्रमित देखिएसँगै नगरपालिकाले लामखुट्टेबाट हुने डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनासहितको अभियान धमाधम गरिरहेको बताए ।
उनले विगतमा भदौ असोज महिनामा मात्र देखिने यो रोग यसपालि मङ्सिर महिनामा बढी देखिएको छ ।
पोथी जातका लामखुट्टेले ससाना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ ।
जमेको पानीको पहिचान गर्दै सबै पालिकाकाले डेङ्गुको लार्भा नष्ट गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताएका छन् ।
तराईको जिल्ला भएका कारण झापा डेङ्गु रोगको उच्च जोखिममा पर्ने घिमिरेले बताए ।
विगतमा महामारीकै रुपमा देखिएको डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ ।
जिल्लामा दुई वर्षअघि डेङ्गु रोगकै कारण ५०० बिरामी भएका थिए भने आधा दर्जन बढीको मृत्यु जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ ।
ड्रम, फूलदानी, गमला, कुलर, पानीका ट्याङ्कीमा डेङ्गुको लार्भा भेटिने गरेकाले त्यस्ता सामग्री प्रयोग भएको स्थानमा गएर लार्भा नष्ट गर्न काम पालिकाले गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया