सात दिनमा साढे ५ अर्ब रुपैयाँको सुन विमानस्थलबाट भित्रियो ,७ करोड राजश्व संकलन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा ७२.७ किलोग्राम सुन भित्रिएको पाइएको छ ।
विमानस्थलमा चेकजाँच कडाइ गरेपछि सात दिनको अवधिमा ७२ किलो सुन भित्रिएको पाइएको हो ।
मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विदेशबाट उक्त परिमाणको काँचो सुनको बाला भित्रिएको हो ।
विदेशबाट नेपाल फर्कने १५ सय ३० जना नेपालीले आफ्नो साथमा उक्त सुन ल्याएका थिए ।
विदेशबाट नेपाल फर्कने क्रममा सुनका तयारी गहनाको रुपमा व्याख्या गर्दै ल्याउने गरेको पाइएपछि सरकारले विमानस्थल भन्सारमा कडाइ गरेको थियो ।
उनीहरुले १५ सय ३० मध्ये १३ सय ४१ जनाले सुनको भन्सार तिरेका छन् । भन्सारमार्फत ७ करोड रुपैयाँ राजश्व उठ्ने विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिएका छन् ।
तर, नेपाल भित्रिएको ७२ किलो काँचो सुनको बालामध्ये अहिलेसम्म जम्मा ५६ किलो मात्रै सुनको भन्सार संकलन बताएका छन् ।
१३ सय ४१ जनाले तिरेको भन्सारमार्फत ५ करोड ४२ लाख रुपैयाँ राजश्व उठेको जानकारी दिए ।
विदेशबाट नेपाल आउने नेपालीहरुले ५० ग्रामसम्म सुनको तयारी गर–गहना नेपाल ल्याउन पाइने प्रावधानको गलत प्रयोग गर्दै ठूलो मात्रामा काँचो सुन ल्याउने पाइएको छ ।
५० ग्रामसम्म सुनका गहना ल्याउँदा नलाग्ने भन्सार महसुललाई गलत व्याख्या गरेर काँचो सुनलाई बाला आकारमा घुमाएर गहना भन्दै नेपाल ल्याउने गरिएको पाइएको हो ।
सात दिनमा नेपाल भित्रिएको ७२ किलो सुनको मूल्य ५ अर्ब ६८ करोड रुपैयाँ हुन आउँछ । प्रतिकिलो सुनमा ८५.७५ तोला हुन्छ । र, ७२ किलो सुनलाई ८५।७५ तोलाले हिसाब गर्दा ६ हजार १७४ तोला हुन आउँछ ।
प्रतिक्रिया