हुम्लामा हिमपात, जनजीवन प्रभावित

काठमाडौं । हिमाली जिल्ला हुम्लामा शनिबार बिहानैबाट हिउँ जम्न थालेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।
हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ ।
नाम्खा गाउँपालिका ३ का सुनाम छिरिङ लामाका अनुसार जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तिन फिट जति हिउँ जमेको छ ।
बाक्लो हिउँ जमेपछि साथै आवतजावतमा समेत थप कठिनाइ भइरहेको र चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बन्दै गएको लामाले बताए ।
एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएपछि सदरमुकाममा चहलपहल न्यून छ ।
हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, नारा, न्यालु लगायतमा आवतजावतमा थप कठिनाइ भएको छ ।
उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकाम भन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।
हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको छ । यस पटकको हिमपातले जेठासी बालीलाई राम्रो गर्ने जानकारी प्राप्त भएको छ ।
शुक्रबार साँझ देखि जिल्लाको मौसममा फेरबदल आएसँगै शनिबार बिहानबाट हिमपात भएको छ ।
प्रतिक्रिया