२०७९ चैत १६ गते | 30th of March 2023

चेतन कार्कीको गीति एल्बम ‘म चेतन’ लोकार्पण

चेतन कार्कीको गीति एल्बम ‘म चेतन’ लोकार्पण
Sanchar_np प्रकाशित: २०७९ कार्तिक १९ गते २:३४

काठमाडौं, दिवंगत गीतकार तथा निर्देशक स्व. चेतन कार्कीको पहिलो एकल गीति एल्बम ‘म चेतन’ लोकार्पण गरिएको छ । नारायण ओलीको एकल संगीत रहेको एल्बमलाई गीतकार कार्कीको ८४ औं जन्म जयन्तीको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, प्रा.डा.अभि सुवेदी, चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष कलाकार मिथिला शर्मा, चेतन कार्कीकी धर्मपत्नी गंगा कार्की, गायिका कुन्ती मोक्तान, म्युजिक नेपालका संस्थापक अध्यक्ष सन्तोष शर्मा लगायत कलाकार तथा साहित्यकारहरुले संयुक्त रुपमा उक्त एल्बम लोकार्पण गरेका हुन् ।

नौ वटा गीतहरु समावेश उक्त एल्बममा नारायण ओली, दिप श्रेष्ठ, कुन्ती मोक्तान, अन्जु पन्त, बानिका प्रधान, महेश सेवा, निशान भट्टराई, अस्मिता अधिकारी, रचना रिमाल र प्रविन बेडवालको स्वर रहेको छ ।

म्युजिक नेपालले उत्पादन र सार्वजनिक गरेको संग्रहमा रहेका गीतहरूको संगीत संयोजन शिलाबहादुर मोक्तान, फणीन्द्र राई, गोपाल रसाइलीले गरेका हुन् ।

कार्यक्रममा ‘म चेतन’ एल्बममा समावेश गायक दीप श्रेष्ठको आवाजमा रहेको गीत ‘विरहमा’ को म्युजिक भिडियो प्रदर्शन गरिएको थियो । राजिव लोहनीद्वारा निर्देशित उक्त भिडियोमा कलाकार कोशिस क्षेत्री र नम्रता सापकोटाको अभिनय रहेको छ । भवानी शिल्पकारको क्यामेरा र टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोको छायांकार रवि सायमी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *