लुम्बिनीसँग पराजित प्रदेश-१ बाहिरियो

काठमाडौं । प्रदेश-१ राजधानीमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । टियु क्रिकेट मैदानमा बिहीबार लुम्बिनी प्रदेशसँग पराजित हुँदै प्रदेश-१ बाहिरिएको हो ।
लुम्बिनीले लगातार चौंथो जित निकाल्ने क्रममा प्रदेश-१ लाई ६ विकेटले पराजित गरेको हो । प्रदेश-१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा देव खनालले १९ रन जोड्दा आकाश त्रिपाठीले १७ रन जोडे । प्रज्वल थापाले १५ रन बनाउँदा विशाल भुषाल ८ रनमा अविजित रहे ।
प्रदेश-१ का लागि कप्तान दिपेश कडेलले ३ तथा विपीन महतोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २६.२ ओभरमा अलआउट हुदै ६९ रन बनाएको थियो ।
प्रदेश-१ का लागि शुभम गहतराजले २२ तथा स्टाईन रिजालले १९ रन बनाए । प्रदेश-१ का अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रदेश-१ लाई कम स्कोरमा रोक्न लुम्बिनीका निर्मल गुरुङले ४.२ ओभरमा ४ रन दिएर ५ विकेट लिए ।
दुर्गेश गुप्ताले २ तथा अभिशेक गौतम र तुल बहादुर थापाले समान १/१ विकेट लिए । जितसँगै लुम्बिनीले ५ खेलबाट ८ अंक बनाएको छ ।
समान अंक रहेको बागमती प्रदेशसँग रनरेटमा पछि परेर लुम्बिनी तेस्रो स्थानमा रहेको छ ।
समान ५ खेलबाट ४ अंक भएको प्रदेश-१ चौथो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।
प्रतिक्रिया