२०८० मंसिर १५ गते | 1st of December 2023

सामूहिक कुटपिटबाट महिलाको मृत्यु भएको भन्दै इलाका प्रहरी कार्यालय घेराउ

सामूहिक कुटपिटबाट महिलाको मृत्यु भएको भन्दै इलाका प्रहरी कार्यालय घेराउ
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ८:५३

विराटनगर । सामूहिक कुटपिटबाट धरानमा एक जना महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले आन्दोलन शुरु गरेका छन् ।धरान १३ मा डेरा गरी बस्ने उषा राईको सामूहिक कुटपिट मृत्यु भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग राख्दै पीडितहरूले इलाका प्रहरी कार्यालय धरानमा घेराउ गरेका छन् ।

एक महिना अघि राई माथि कुटपिट भएकोमा उपचारका क्रममा मंसिर १३ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्थानीयका अनुसार मृतक उषामाथि आमा समूहको नाममा कात्तिक ३ गते महिलाहरूको एक समूहले कुटपिट गरेको थियो ।
कुटपिटपछि घाइते उषालाई तत्काल बीपी प्रतिष्ठान धरानको सघन कक्षमा उपचारका लागि पुर्‍याइएको थियो ।

उपचारपछि डिस्चार्ज भएकी उषाको स्वास्थ्य अवस्था मंसिर ६ गते पुनः बिग्रिएको थियो । अस्वस्थ भई अस्पताल भर्ना भएकी उषाको उपचार कै क्रममा मृत्यु भएको मृतकका आफन्त देवाहांग राईले बताए ।

मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरूलाई कारबाही हुनुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा घेराउ र नाराबाजी भएको छ ।

कुटपिटमा संलग्न मध्ये उर्मिला राईलाई प्रहरीले पक्राउ गरेको छ । पीडितहरूले उर्मिलाका श्रीमान् गोविन्द राई र ४ जना महिलाहरूलाई पनि पक्राउ गर्नु पर्ने माग राखेका छन् । उनीहरू विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

उनीहरूले जाहेरीमा उल्लेख भएका सबैलाई पक्राउ गर्नुपर्ने,मुख्य आरोपीको श्रीमान् गोविन्द राईलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने माग गर्दै नारा लगाएका छन् ।

उक्त घटनाको मुख्य आरोपी उर्मिला राई पक्राउ परिसकेकी छिन् । अन्य भने फरार छन् । आन्दोलनरत महिलाहरूको अडानको कारण मृतकको पोष्टमार्टम पनि हुन सकेको छैन ।

मृतक उषा २ छोरीको साथ डेरामा बस्थिन् । उनको श्रीमानको करिब २ वर्षअघि नै मृत्यु भइसकेको थियो । उनले कपडा सिलाएर घर खर्च जुटाइरहेका थिए ।

सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले प्रहरीले अनुसन्धान गरिरहेको र घटनामा संलग्नको खोजी कार्य भइरहेको बताए । उनले घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाई कारबाही गर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *