प्रभु यादवको हत्या आरोपमा दुई जना पक्राउ

Sanchar_np
प्रकाशित: २०७९ मंसिर १७ गते ६:३१
धनुषा, धनुषाको मिथिला बिहारी नगरपालिका-४ कजरा रमौलका ५३ वर्षीय प्रभु यादवको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कजरा रमौलका ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् । बिहीवार राति दुई पक्षीय विवाद भएपछि प्रभु यादवको हत्या भएको थियो ।
बिहीवार राति स्थानीय सुरज यादवसहितको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको ज्यान गएको प्रभुका छोरा अशोकले बताए।
घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरेका उनले बताए ।
झन्डै दुई महिनाअघि सुरजको बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको थियो । गाउँलेहरूको भेलामा प्रभुसँग सुरजले माफी मागेका थिए । बिहीवार रातिको आक्रमण त्यही घटनासँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया