२०८० मंसिर १५ गते | 1st of December 2023

चोरी सिकारीका कारण रेडपाण्डा जोगाउन समस्या

चोरी सिकारीका कारण रेडपाण्डा जोगाउन समस्या
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते ९:४९

विश्वमै दुर्लभ मानिएको जङ्गली जनावर रेडपाण्डा (हाब्रे) जोगाउन समस्या भएको छ । पश्चिम म्याग्दीको विभिन्न ठाउँमा पाइने रेडपाण्डा चोरी सिकारीका कारण जोगाउन समस्या भएको हो ।

धौलागिरि गाउँपालिकाको गुर्जा, मुदी र लुलाङका जङ्गलमा पाइने हलुका रातो, सेतो र कालो रङको रेडपाण्डा सिकारीको रोजाइँमा पर्ने गरेको छ । वन जङ्गलमा टुसा खोज्न जाने स्थानीयवासीले घरेलु हतियार प्रयोग गरेरसमेत रेडपाण्डा सिकार गर्ने गरेका छन् । पाँच वर्षअघि विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । उक्त संरक्षण अभियानले दुई वर्षयता निरन्तरता पाउन नसक्दा चोरी सिकारी गर्ने क्रम बढेको स्थानीय जसवीर विकले बताए ।

रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ताले स्थानीयवासीलाई यसबारे जानकारी गराएको साथै वासस्थानसमेत देखाएपछि स्थानीयवासी यसको संरक्षणमा लागेका थिए । धौलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झकप्रसाद छन्त्यालका अनुसार सिकारीले सिकार आरक्ष ढोरपाटनसँग सिमाना जोडिएका स्थानमा रतुवा, घोरल, मृग, बँदेलसहित लोपोन्मुख रेडपाण्डाको सिकार गर्ने गरेका छन् । “रेडपाण्डा संरक्षण समितिले नियमित गस्ती, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा कडाइ गर्दै आएको थियो”, उनले भने।

पश्चिम म्याग्दीका जङ्गलमा प्रारम्भिक अनुसन्धानमा पाँचवटा भेटिए पनि गाउँपालिकाअन्तर्गतमा सामुदायिक तथा राष्ट्रिय वनमा झण्डै २० रेडपाण्डा रहेको अनुमान गरिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ ।

निगालोको टुसालाई आहाराको रुपमा प्रयोग गर्ने रेडपाण्डासहित अन्य वन्यजन्तुको तस्करी नियन्त्रणका लागि स्थानीयवासीलाई सहयोग गर्दैआएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुनले बताए। म्याग्दीका साथै नुवाकोट, रसुवा, धादिङ, लमजुङ, मनाङ, मुस्ताङ, बागलुङलगायत जिल्लामा रेडपाण्डाको बासस्थान रहेको अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *