२०८० मंसिर १५ गते | 1st of December 2023

आन्तरिक पर्यटकको रोजाइमा गाजीपुर मदनस्मृति पार्क

आन्तरिक पर्यटकको रोजाइमा गाजीपुर मदनस्मृति पार्क
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ९:१५

चितवनको भरतपुर महानगरपालिका–१७ गाजीपुरमा रहेको मदनस्मृति पार्क आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दृश्यावलोकन स्तम्भ (भ्यू टावर) लगायतका भौतिक संरचना निर्माण भएपछि यहाँ आन्तरिक पर्यटक बढ्न थालेका हुन् ।

नारायणी नदी किनारसँगै रहेको यो पार्क जननेता मदन भण्डारीको स्मृतिमा निर्माण गरिएको हो । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परेका भण्डारीको शव यही ठाउँमा फेला परेको थियो । यहाँ नेता भण्डारीको अर्धकदको शालिक बनाइएको छ । पार्कमा चितवन र नवलपुरसँगै नारायणी र चितवन राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्नका लागि स्तम्भ निर्माण गरिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष गौरस तामाङले जानकारी दिए।

उनले नारायणीको बाढी र कटानले सधैँ दुःख दिइरहने तटीय क्षेत्रलाई अहिले पार्कका रुपमा विकास गरिएको बताए । पार्कमा भ्यू टावरसँगै तीन प्रतिक्षालय, पार्कका विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यूटावरको संरक्षणका लागि पर्खाल, गेट र उक्त क्षेत्रमा हिँडडुल गर्न मोज्याक टायल र आकर्षक रङ्गिन बत्ती लगायतका संरचना निर्माण गरिएको छ ।

पार्कमा आन्तरिक पर्यटक बढ्न थालेपछि नजिकै चार÷पाँच रेष्टुरेन्ट र पसलसमेत सञ्चालनमा आएका छन् । बाटोको दुवैतिर र भ्यू टावरमा राखिएका रङ्गीन लाइटले पार्कलाई थप मनमोहक बनाएको तामाङले बताए । साँझको समयमा पार्कमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने भन्दै पार्कलाई थप आकर्षक बनाउन हिँड्ने बाटोमा रेलिङ र विभिन्न प्रकारका बिरूवा रोपेर हरियाली बनाउने काम भइरहेको उनले जानकारी दिए ।

मदन भण्डारीको स्मृतिलाई जीवन्त बनाउन त्यहाँ त्यसबेला जुन अवस्थामा शव देखिएको थियो त्यसैको झल्को दिने गरेर संरचना बनाउने योजना रहेको अध्यक्ष तामाङले बताए । झोलुङ्गे पुलबाट प्रतिमूर्तिसम्म पुगेर अवलोकन गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना रहेको भन्दै उहाँले गाजीपुर क्षेत्रमा मदन भण्डारी स्मृति पार्क, ‘बायोडाइभर्सिटी’ अनुसन्धान केन्द्र बन्ने जानकारी दिए ।

यहाँ सङ्घ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरेर काम भइरएको छ । पार्कलाई थप विस्तार गर्ने तयारी गरिएको छ । दासढुङ्गादेखि चितवनको पश्चिमी अन्तिम बिन्दु गोलाघाटसम्म नदीकिनारको क्षेत्रमा पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमलाई समेटेर एकीकृत विकास योजना अगाडि बढाइएको पार्क निर्माण उपभोक्ता समितिका सदस्य टुकमान गुरूङ बताउछन्।

“अहिले पार्कको प्रारम्भिक चरणको विकासको काम भएको छ, अझै धेरै काम हुन बाँकी नै छ, सबै संरचना निर्माण भएपछि यो नमूना पर्यटकीय केन्द्रका रुपमा विकास हुनेछ”, उनले भने । मझुवा सामुदायिक वन र दियालो सामुदायिक वन तथा कालाबञ्जर मध्यवर्ती क्षेत्रको नजिक रहेको यस क्षेत्रमा पर्याप्त पर्यटकीय सम्भावना छ । यस क्षेत्रको संरक्षण गरी हिउँदमा देखिने साइबेरियन हाँस, क¥याङकुरूङलगायत धेरै किसिमका चरा, एकसिङ्गे गैँडा तथा गोहीको बासस्थानका रुपमा विकास गर्न सकिने र पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *