२०८१ वैशाख ७ गते | 19th of April 2024

वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको विश्व कीर्तिमानी जित

वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको विश्व कीर्तिमानी जित
Sanchar_np प्रकाशित: २०७९ चैत १३ गते २:४५

काठमाडौं । ओपनर क्विन्टन डि ककको सानदार तथा विष्फोटक शतकको सहयोगमा घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा पाहुना टोली वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हात पारेको छ ।

सेन्चुरियनमा रहेको सुपर स्पोर्ट्स पार्कमा आईतबार राती सम्पन्न खेलमा घरेलु टोलीले ६ विकेटको जित निकालेको हो ।

टी-ट्वान्टी अन्तराष्ट्रियको नै इतिहासमा सर्वाधिक ठूलो लक्ष्य पूरा गर्ने कीर्तिमान कायम गरेको छ । योसँगै तीन टी-ट्वान्टी अन्तराष्ट्रिय खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ ।

पाहुना टोलीले दिएको २ सय ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । टी-ट्वान्टी अन्तराष्ट्रिय इतिहासकै उच्च लक्ष्य पूरा भएको हो ।

यसअघि टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक ठूलो लक्ष्य अष्ट्रेलियाले पूरा गरेको थियो । अष्ट्रेलियाले २०१८ मा न्युजिल्यान्डले दिएको २ सय ४४ रनको लक्ष्य पूरा गरेको थियो ।

दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डि ककले ४४ बलमा ९ चौका र ८ छक्कासहित १ सय रनको सानदार शतकीय इनिङ खेले ।

अर्का ओपनर रिजा हेन्ड्रिक्स २८ बलमा ११ चौका र २ छक्कासहित ६८ रनको सानदार अर्धशतकीय ईनिङ खेले ।

पहिलो विकेटका लागि रिजा र डि ककले ६५ बल खेल्दै १ सय ५२ रनको शतकीय साझेदारी गरेका थिए ।

कप्तान एडेन माक्ररम २१ बलमा ३८ रनमा अविजित रहँदा राइली रोसोउ १६ रनमा आउट भए ।

हेनरिक क्लासेन १६ रनमा अविजित रहँदा डेविड मिलर १० रनमा आउट भए ।

पाहुना टोलीका लागि जेसन होल्डर, ओडेन स्मिथ, रायमन रिफर र रोभम्यान पावेलले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५८ रन बनाएको हो ।

पाहुना टोलीका लागि जोनशन चाल्र्सले ४६ बलमा १ सय १८ रनको शतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन्। उनले १० चौका र ११ छक्का प्रहार गरेका थिए ।

चाल्र्सले वेस्ट इन्डिजका लागि टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक कम बलमा शतक बनाउने कीर्तिमान समेत बनाएका छन् ।

यस अघि २०१६ मा क्रिस गेलले इंग्ल्यान्डविरुद्ध ४७ बलमा शतक पूरा गरेका थिए ।

चाल्र्सले ३९ बलमा शतक प्रहार गरेका थिए । टी-ट्वान्टी अन्तराष्ट्रियमा वेस्ट इन्डिजले बनाएको यो नै सर्वाधिक योगफल हो ।

ओपनर कायल मेयर्सले २७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले ।

रोमारियो शेफर्डले १८ बलमा अविजित ४१ रन बनाउँदा कप्तान रोभमन पावेलले २८ रनमा बनाए ।

घरेलु टोलीका लागि मार्को यानसनले ३ तथा वाईनी पार्नेलले २ विकेट लिए ।

तीन टी-ट्वान्टी अन्तराष्ट्रिय खेलको सिरिजको तेस्रो तथा निर्णायक खेल मंगलबार रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *